
राहदानी सकस अन्त्यको खाँचो
अघि वैदेशिक रोजगारीका लागि ग्रामीण भेगबाट भारतसम्म मात्र जाने गर्थे । त्यतिबेला विदेश जानेलाई ‘देश’ जाने भनिन्थ्यो । पछि खाडी लगायतका मुलुक पनि वैदेशिक रोजगारीका लागि खुल्ला गरियो । त्यसपछि मान्छेहरुको आयस्तर वृद्धि हुदै गयो ।
वैदेशिक रोजगारीलाई दुरुत्साहन गर्नुपर्छ भन्ने मान्यतालाई यथास्थानमा सम्मान गर्दै हातमुख जोर्न धौ हुनेहरुको पनि अहिले जीवनयापन सहज भएको देख्दा वैदेशिक रोजगारी पनि बेठिक छैन भन्नुपर्ने भएको छ ।
यथेष्ट धन दौलत हुनेहरु, स्वदेशमै मनग्य कमाउनेहरु प्राय रमाउन विदेश जान्छन्, जुन बाध्यकारी हुदैन, तर जो आर्थिक रुपमा दरिद्र छन् उनीहरु हातमुख जोर्ने जोहोका लागि विदेश जान बाध्य छन् । यसलाई सकारात्मक र नकारात्मक रुपमा व्याख्या, विश्लेषण गर्ने थुप्रै तर्कहरु हुनसक्लान् तर राज्यले अवलम्बन गरेको वर्तमान व्यवस्थालाई सम्मान गर्दै विदेश जाने हरेक चरण सहज बनाउन सरकारसित माग गर्नुपर्ने हुन्छ ।
अहिले विदेश जानभन्दा राहदानी बनाउन कठिन भएको सर्वसाधारणको गुनासो सुनिन्छ । राजधानीस्थित राहदानी बनाउने ठाउँमा निसास्सिने लाइन बस्नु पर्ने अबस्था छ । जिल्लाहरुमा पनि उस्तै अबस्था छ । जिल्लाहरुमा एकदिनमा राहदानी बनाउन पाउने कोटा ज्यादै न्यून छ । गोरखाकै सन्दर्भमा एक घण्टामा जम्मा १० जनाले अर्थात, एक दिनमा जम्मा ६० जनाले मात्र राहदानी बनाउन पाउने कोटा निर्धारण गरिएको छ ।
जब कार्यालय समय हुन्छ, तब धेरै जनाले फाराम भर्न प्रयास गर्छन् । एकसाथ धेरैजनाले प्रयास गर्दाको परिणामस्वरुप सर्वर ब्यस्त बन्छ । न उसले फर्म भर्न पाउँछ, न यसले । त्यसैले कुनै कुनै दिनमा एकातिर सेवाग्राही निराश भएर फर्कनु पर्ने हुन्छ, अर्कातिर राहदानी शाखाले निर्धारित कोटा पनि पूरा गर्न सक्दैन ।
प्रविधिको प्रयोग छिटोका लागि, सजिलोका लागि, सुपथका, आधुनिकता लागि गरिने हो, तर राहदानी बनाउन प्रयोग गरिएको प्रविधिले यी कुनै पनि लक्ष्य पूरा गरेको छैन, बरु ढिलो, असजिलो र महंगो पर्न गएको छ । त्यसैले यस्तो समस्या तत्काल समाधान हुन जरुरी छ ।




