| सोमवार, कार्तिक २३, २०८३

प्रहरी कार्यालयभित्रै मान्छे कुटिनु दुखद ?

बुधबार एक युवा प्रहरी कार्यालयभित्रै कुटिएका छन् । विवाद समाधानका लागि बोलाइएका दुई समूह बीच आपसी विवाद हुँदा स्मार्ट राइडिङ सर्भिस प्रालिका दीपक शाही कुटिएका हुन् । गोरखा मनकामना यातायात व्यवसायी प्रालिका युवाहरुले उनलाई प्रहरी कार्यालयभित्रै कुटेका थिए ।

जहाँतहीँ विवाद भए पनि जब प्रहरीको उपस्थिति हुन्छ, तब विवाद हुदैन, कुटपिट जस्ता अप्रिय घटना हुदैन भन्ने जनमानसमा विश्वास छ । जुनसुकै घटनामा पनि जब प्रहरीले दोषीलाई नियन्त्रणमा लिन्छ, तव न्याय निसाफको कुरा अर्को चरणमा हुनेछ, तत्कालका लागि कम्तिमा पीडित वा पिडकको ज्यूधनको सुरक्षा हुन्छ भन्ने विश्वास गुमेको छैन ।
तर बुधबार प्रहरी कार्यालयभित्र जुन घटना भयो, त्यो दुखद हो ।

बाहिर विवाद साम्य गर्न कठिन भएपछि नै दुवै पक्ष शान्ति सुरक्षाको वातावरणमा वार्ता गर्न प्रहरी कार्यालयभित्र जान्छन् । तर बुधबार प्रहरी कार्यालयभित्रै एक पक्षले अर्को पक्षमाथि हातपात ग¥यो । बलियो पक्षले कमजोर पक्षलाई कुटपिट, हप्कीदप्कीको वातावरणमा वार्ता गर्ने नै हो भने बाहिरै जहाँकहीँ वार्ता गरे भइहाल्थ्यो । जुन वातावरणको अपेक्षा गरियो, त्यो अपेक्षामाथि त्यहाँ कुठाराघात भयो ।

वैध रुपमा यातायात सञ्चालन गर्नुपर्छ भन्ने पक्ष(गोरखा मनकामना यातायात व्यवसायी प्रालि) र आफूहरुले वैध रुपमा नै यातायात सेवा सञ्चालन गरेको दावी गरेका(स्मार्ट राइडिङ सर्भिस प्रालि) बीच निसाफ छिनोफानोको बिषय दोस्रो चरणका हो । कम्तिमा शान्ति सुरक्षापूर्वक दुवै पक्षले आफ्नो दावी प्रस्तुत गर्न पाउनुपथ्र्यो तर त्यो वातावरण त्यहाँ मिलेन । यो दुखद हो ।

अराजकताले प्रहरी प्रशासन देखेन वा देखेर पनि पर्वाह गरेन वा प्रहरीको मर्यादामाथि अपमान गर्दै कुटपिटमा उत्रियो । यस्ता दुखद बिषय अबका दिनमा नजिर नबनुन् । बल, मुख्र्याइँ हुनेले प्रहरी कार्याभित्रै निर्बलियामाथि आक्रमण गर्ने वातावरण नबनुन् ।

प्रतिक्रिया दिनुहोस्