
प्रधानमन्त्रीसित मतदाताको तीब्र अपेक्षा
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको तेह्रौँ र आफ्नो जीवन कालमा तेस्रो पटक प्रधानमन्त्री बन्न सफल बनेका पुष्पकमल दाहाललाई आम गोरखाबासीले बधाइ र कार्यकाल सफलताको शुभकामना व्यक्त गरिरहेका छन् । साथै उनीसित गोरखाबासीले धेरै आशा र अपेक्षा गरिरहेका छन् ।
त्यसमाथि गोरखाबाटै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्न सफल नारायणकाजी श्रेष्ठसित पनि उत्तिकै आशा र अपेक्षा गरेका छन् ।
विशेषगरी प्रचण्डले चुनाव प्रचार प्रसारका बेला पालुङटारदेखि सामागाउँ, घ्याल्चोकदेखि छेकम्पारसम्मको यात्राका क्रममा धेरै प्रतिवद्धता व्यक्त गरेका छन् । ती हरेक आश्वासनलाई मतदाताले नोट गरेर राखेका छन् । चानेचुने नेताले बोलेका भए त आँखा चिम्लन पनि सजिलो हुनेथियो, शीर्ष नेता तथा दुईपटकसम्म प्रधानमन्त्री बनिसकेका ब्यक्तिले बाँडेका आश्वासन सम्झिरहनु अस्वभाविक पनि भएन ।
उनले दसकदेखि अल्झिरहेको बूढीगण्डकी जलविद्युत आयोजनालाई यथासीघ्र मोडालिटी निश्चित गरी निर्माणको काम सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यस्तै न्यून बजेट विनियोजनका कारण ढिलासुस्ती भइरहेको बेनिघाट, आरुघाट लार्के सडक निर्माणलाई तिब्रता दिने पनि आश्वासन दिएका थिए । धार्चे र चुमनुब्रीलाई समेटेर छुट्टै जिल्ला वा विशेष क्षेत्र बनाउन पहल गर्ने पनि उनले चुनावी प्रचार प्रसारका बेला बोलेका थिए ।
चारदशकदेखि बन्द रहेको पालुङटार एयरपोर्ट पुन सञ्चालन गर्ने, सो एयरपोर्टलाई पाइलट ट्रेनिङ सेण्टरका रुपमा विकास गर्ने, पालुङटारलाई औद्योगिक सहरका रुपमा विकास गर्ने, बन्द र रुग्ण अबस्थामा रहेको गोरखकाली रबर उद्योग सञ्चालन गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका थिए । जडिबुटी प्रशोधनशाला निर्माण गरी आयआर्जन वृद्धि गर्ने, दरौँदी, मस्र्याङ्दी, चेपे तथा बूढीगण्डकी करिडोरलाई कृषि उत्पादनमा प्रवद्र्धन गर्ने उनको घोषणा थियो ।
यी सबैभन्दा पनि गोरखाका सडकलाई धुलोमुक्त बनाउनको घोषणा अझै चर्चामा छ ।
प्रधानमन्त्रीले यो पाँचबर्षमा उपरोक्त प्रतिवद्धता पूरा गर्नुपर्ने यहाँका मतदाताको अपेक्षा छ ।




