| सोमवार, कार्तिक २३, २०८३

शीर्ष तहका जनप्रतिनिधिसित गाढा जनअपेक्षा

भनिन्छ, आशा, अपेक्षा नै दुखको कारक हो । सबै भोक्ता, दृष्टाका लागि यो कुरा नयाँ होइन । तर संसारमा जानेका कुरा आफ्नो व्यवहारमा लागु गर्ने कम छन्, अरुलाई सिकाउने धेरै छन् ।

‘आएन ज्युँदै रहँदा ज्ञान, आखिर श्रीकृष्ण रहेछ एक’, महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्तिम कवितालाई आधार मान्ने हो भने आखिरको आधार आ–आफ्ना आस्थाका देव हुन् । तर त्यसभन्दा अघिका आशाका धरोहरहरु धेरै छन् । तीमध्य सबैभन्दा ठूलो आशा, आस्थाका आधार भनेका राजनीतिक दलका शीर्ष नेता हुन् । शीर्ष नेता दाहिना भए भने चाहेका सबैकुरा प्राप्त हुन्छ भन्ने आशा अभिलाशा जनमनमा हुन्छ ।

गोरखालाई यस्ता आशा अभिलाशा गर्ने ठाउँ पहिल्यैदेखि प्राप्त छ । परिपूर्ति कति भए, कति भएनन्, अनुभवीलाई जति अरुलाई थाहा हुदैन । विशेषगरी गोरखा माओवादी केन्द्रका शीर्ष नेताहरुको गृहजिल्ला रहेकाले यसका भुक्तभोगी माओवादी केन्द्रका कार्यकर्ता तह हुन् ।

हुन त, पञ्चायतका पालामा राजेश्वर देवकोटा पनि केन्द्रकै राजनीतिमा रहेर लामो समय सक्रिय रहे । तर उनी धरातल भन्दा केन्द्रमुखी भए भन्ने आरोप छ । जसले गर्दा गोरखालीको चाहनाअनुसार काम भएको बुझिदैन । गोरखाबाट कांग्रेसका सबैभन्दा ठूला नेता भनेका चिरञ्जीवि वाग्ले रहे । थोरै समय शीर्षस्थानमा रहेर उनी राजनीतिबाट पाखा लागेका छन् ।

नेकपा माओवादी केन्द्रबाट भने डाक्टर बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे जस्ता शीर्ष नेता गोरखाले पाएको छ । अहिले त झनै पार्टीका केन्द्रीय अध्यक्ष नै गोरखाले पाउनु कम्ति सुखको कुरा होइन ।

माओवादीबाट संसदीय दलका नेता प्रचण्ड पनि गोरखाकै, राष्ट्रिय सभामा दलका नेता नारायणकाजी श्रेष्ठ पनि गोरखाकै प्रतिनिधिसभाका माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पनि गोरखाकै । यसले गोरखाले आशा, अपेक्षा, भरोसा गर्ने ठाउँ त छ तर त्यसको कार्यान्वयन पक्ष कस्तो रहन्छ, हेर्दै जाने बिषय हो ।

प्रतिक्रिया दिनुहोस्