| सोमवार, कार्तिक २३, २०८३

अनि पो महोत्सव महोत्सव जस्तै हुन्छ

जुन कुराको पनि सुरुवाती चरणमा चरम महत्व हुन्छ । नेपाल भ्रमण बर्षको उपलक्ष्य पारेर पहिलो पल्ट २०५४ सालमा पहिलो गोरखा महोत्सव आयोजना गर्दा यसको महत्व अविस्मरणीय थियो । यसको रौनक, यसप्रतिको मोह, यसप्रतिको अपेक्षा, यसको व्यवस्थापन, यसप्रतिको आस्था, श्रद्धा, सम्मान धेरै उच्चस्तरको थियो । त्यो आजसम्म आइपुग्दा फितलो हुँदै गएको छ ।

यस्तो हुनु प्राकृतिक नियम हो, मानवीय गुण, सामाजिक यथार्थ हो । सूर्य त उदाउँदा जति लालिमा हुन्छ, अस्ताउँदा पहेँलिएर जान्छ । सूर्यमा अडेको पृथ्वीका अरुमा लागु हुनु स्वभाविक छ ।

अहिले पनि मेला महोत्सव भनेपछि कहिल्यै घाटामा चलेको छैन । नाफै नाफामा चलिरहेको हुन्छ । नाफा अर्थात कारोबार राम्रै भएको हुन्छ ।

स्टल राख्नेले नाफा गरेकै हुन्छ । वाल उद्यान चलाउनेले पनि राम्रै आर्जन गरेकै हुन्छ । कलाकारहरुलाई राम्रै चलेको पारिश्रमिक दिएर आयोजकले राम्रै आम्दानी गरेको हुन्छ, जसबाट विभिन्न लक्ष्य सार्वजनिक गरेको हुन्छ ।

सबै सन्तोषजनक भए पनि कमी, कमजोरी भनेको स्थानीय उत्पादनको प्रवद्र्धनमा हो । पहिलो नारामै स्थानीय उत्पादनलाई प्रवद्र्धन गराउने भन्ने लेखिएको हुन्छ तर बजारका पसलहरुमा जे जे सामान हुन्छ, स्टलमा त्यही हुन्छ । न कृषि उत्पादनको बजार त्यहाँ भेटिन्छ, न त हस्तकला, बस्तुकलाबाट उत्पादित सामग्री मेला महोत्सवमा भेटिन्छ ।

प्रोकमा असली गुणस्तरको स्याउ उत्पादन हुन्छ, रुञ्चेत, केरौँजा, काशिगाउँमा किवी उत्पादन हुन्छ । ती फलफूल गोरखा महोत्सवको स्टलमा देख्न पाइयोस् । बारपाक सुलीकोटमा निर्मित मान्द्रो, भकारी, थुन्से, बिरिम महोत्सवस्थलमा किनबेच भइरहेको हेर्न पाइयोस् ।

उहिया, खोर्लाका भीरमौरीका मह, अजीरकोटका अलैँची, केरौँजावेशीका अदुवा, फुजेलका अकबरे खुर्सानीले महोत्सव स्थललाई उज्यालो बनाउन् । देशकै पहिलो पंक्तीमा हिड्ने कलाकार गोरखामा छन् । तिनले महोत्सवको मञ्च सजाउन्, अनि पो महोत्सव महोत्सव जस्तो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्