
अरु पालिकाले पनि आधारभूत स्वास्थ्य सेवा सुरु गरुन्
सुन्दा आधारभूत स्वास्थ्य सेवा भनेको त के ठूलो कुरा हो र ? जस्तो लाग्नसक्छ । तर विषय सोचे जस्तो सतही छैन । हालसम्म नेपालका कुनै पनि पालिकाले आधारभूत स्वास्थ्य सेवा सुरु गरेका छैनन् । प्राप्त जानकारी अनुसार गोरखा नगरपालिका नै पहिलो पालिका हो, जसले आधारभूत स्वास्थ्य सेवा दिने भनेर भर्खर कार्यपालिकाको बैठकले अनुमोदन गरेको छ । साथै आधारभूत स्वास्थ्य सेवा सम्बन्धी निर्देशिका २०७९ पास गरेको छ ।
आधारभूत स्वास्थ्य सेवा निर्देशिकाभित्र विभिन्न १० बुँदा छन् । जसमा आधारभूत स्वास्थ्य सेवा लागु भएपछि पाँचबर्षभन्दा मुनिका बालबालिकालाई सरकारले सुनिश्चित गरेका सबै खोप निशुल्क उपलब्ध गराउनु पर्ने, निमोनिया, झाडापखाला, दादुरा, रुबेला, कुपोषण र मलेरिया रोगको निशुल्क उपचार गराउनु पर्ने, गर्भवती जाँच, सुत्केरी र सुत्केरीपछिको निशुल्क रुपमा स्वास्थ्य जाँच र उपचार सेवाको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै पोषण जाँच, कुपोषण भएमा पोषणको व्यवस्था, नियमित भिटामिन कार्यक्रमअन्तर्गतका बालभिटा, जिङ्क, आइरन चक्की खुवाउने, परिवार नियोजनलाई व्यवस्थित गर्ने पनि आधारभूत स्वास्थ्यसेवा अन्तर्गत पर्छन् ।
सबै खालका सरुवा रोगको निशुल्क परीक्षण र उपचार, नसर्ने रोग पीडित र शारीरिक बिकलाङ्ग भएकाहरुको खोजी र न्यूनिकरण गर्ने, गोरखा अस्पतालमा अलग्गै एकाइ तयार गरी नगरभित्रका ज्येष्ठ नागरिकहरुको नियमित स्वास्थ्य परीक्षण गर्ने र दीर्घरोगहरुको निशुल्क उपचार गर्ने दायित्व यो सेवा भित्र पर्छ ।
त्यसैगरी कार्डबाहक नगरबासीलाई १८ प्रकारका सर्जिकल सेवा, १९ प्रकारका प्रयोगशाला सेवा र ९८ प्रकारका औषधी निशुल्क उपलब्ध गराउने दायित्व पनि नगरपालिकाले बहन गर्नुपर्नेछ ।
हेर्दा सामान्य जस्ता लाग्ने भए पनि आधारभूत स्वास्थ्य सेवाले नगरबासीलाई धेरै ठूलो सेवा पुग्नेछ । त्यसैले पहिलो पटक यो सेवा उपलब्ध गराएकामा गोरखा नगरपालिका धन्यवादको पात्र छ । अन्य पालिकाले पनि यस्तो कामका लागि हिम्मत गरुन् ।




