
पेमा छ्योलिङ गुम्बाबाट पाठ सिकौँ
सार्वजनिक पद धारण गरेका सबैले ज्येष्ठ नागरिकलाई कुनै पनि कसर बाँकी नराखी सेवा गर्नुपर्छ भनेर बोल्न जान्दछन् । मिठा, रसिला वाणीमा ज्येष्ठ नागरिकको पक्षमा प्रवचन गर्न सक्दछन् तर उनीहरुमध्य कतिजनाले आफ्ना घरका ज्येष्ठ नागरिकको स्याहार, सम्भार गरेका होलान् ?
अरुलाई अर्ती दिन, अरुलाई सिकाउन, अरुलाई सुझाव दिन, अरुले गरेको गल्ती औल्याउन सबैले जान्दछन्, तर अरुलाई सिकाएकै कुराहरु आफूमा लागु गर्न कतिजना सफल होलान् ? आफूमा निहित नराम्रा कुरा पहिचान गरी त्यसलाई हटाउन को–को समर्थ छन् ? मननीय कुरा छ ।
तसर्थ अरुतिर हेर्नुपूर्व आफैतिर हेरौँ, कमीकमजोरी छन् भने सन्देह नमानी सच्चिऔँ । घर(दायित्व)मा ज्येष्ठ नागरिक छन् भने स–सम्मान हाँसीखुशी राख्न पछि नपरौँ ।
सदरमुकामबाट सबैभन्दा टाढा रहेको सामागाउँभन्दा केही माथि पेमा छ्योलिङ गुम्बा छ । घरमा बस्न नचाहने वृद्धवृद्धाहरु त्यहाँ गुम्बामा रहेको आश्रमहरुमा बस्छन् । घरगृहस्थी त्यागेर यहाँ आएकाहरु माने घुम्छन् । माला जप्छन् । पाठ गर्छन् । जीवनको अन्त्यमा यहीँ मृत्यू वरण गर्छन् ।
यहाँ बस्ने वृद्धवृद्धाहरुलाई एकजना लामा गुरुले नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएका छन् । शनिबारका दिन गुम्बामा गएर ती ज्येष्ठ नागरिकहरुको ब्लडप्रेसर, अक्सिजन लेभल, पोषणको अबस्थाको चेकजाँच गर्न गाउँकै स्वास्थ्यकर्मीसित समन्वय गरेका छन् ।
ड्युटीबाहिरको समयमा अतिरिक्त काम गर्नुपरेकाले स्वास्थ्यकर्मीलाई धेरथोर पारिश्रमिक थप गरी उनले सो व्यवस्था गरेका हुन् । व्यक्तिगत रुपमा गरेको यो पहलका लागि उनी लामा जिग्मे साधुवादका पात्र छन् ।
यसबाट उनले केही लाभ पाउने होइनन्, गाउँलेका पिता माता लाभान्वित हुने हो । कमजोरी भएकाहरुलाई भिटामिनलगायतका औषधीहरु पनि जोहो गरिदिएका छन् ।
दूरदराजको सानो काम हो, तर यसको सन्देश राम्रो छ । यसलाई हेरेर हामी जोकोहीले आफ्नो ठाउँका वृद्धवृद्धालाई त्यसैगरी स्याहार गर्न सक्छौँ ।




