
मुग्लिन–नारायणगढ सडक आजदेखि एक महिनासम्म दैनिक चारघण्टा बन्द
नारायणगढ–मुग्लिन सडक आज मंगलबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । बिहान ११ बजेदेखि दिउँसो सो सडक बन्द रहने नारायणगढ–मुग्लिन–नागढुंगा–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । मुग्लिनदेखि पश्चिमका चारवटा पुल बनाउनका लागि दिउँसो सडक बन्द हुने भएको हो ।
एक महिना जति दैनिक चार घण्टाका दरले सडक बन्द गरेर काम गर्ने आयोजनाका सूचना अधिकारी रहेका इन्जिनियर कृष्ण आचार्यले बताए । चिसेन्जी, तुइन खोला, कालिखोला र सिमलतालमा पुल बनाउन पहाड काट्नु पर्ने भएको र पहाड काटेका बेला गाडी चल्दा दुर्घटना हुनसक्ने भएका कारण सडक बन्द गर्नु परेको उनले बताए । चार वर्षअघि नारायणगढ–मुग्लिन सडकलाई दुई लेनको फराकिलो बनाउने काम सम्पन्न भएको थियो ।
सडक दुई लेनको भए पनि पुल साँघुरा थिए । सडकजस्तै चौडा पुल बनाउनका लागि ७६ सालको चैत १० मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार यही पुस ९ मा पुल बनेर सकिनु पर्ने हो । सो सडकखण्डमा पहिला पाँचवटा पुल दुई लेनको बने पनि १५ वटा पुल दुई लेनको बनाउन सम्झौता भएको थियो । तर कोरोनाका कारण पटक पटक भएको लकडाउनलगायतका समस्याले काम बाँकी नै छ ।
‘अन्य पुलहरुको काम धेरै अगाडि बढेको छ । तर तीन चारवटा पुलको काम अगाडि बढाउन गाडी नै रोकेर पहाड ताछ्नु परेको हो’, इन्जिनियर आचार्यले भने । पुल बनाउने ठाउँको आडैमा पाँचवटा घरहरु रहेका कारण एउटा पुलको अझै जग खन्ने कामसमेत सुरु भएको छैन । क्षतिपूर्ति नदिइ ती घर हटाउन नपाउने भएका कारणले रकम आइनसकेको हुँदा घर हटाएर पुलको काम सुरु गर्न अबेला भएको आचार्यले बताए ।
पुलको कामका लागि बाटो बन्द गर्दा बिरामी बोकेका एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मीका गाडी र अत्यावश्यक सेवाका केही गाडीहरुलाई अनुकूलता हेरेर सडक वारपार गराउने व्यवस्था मिलाएको पनि आचार्यले जानकारी गराए । बाटो बन्द हुने समयमा रोकिने गाडीको ठाउँ पनि तय भएको छ । नारायणगढ हुँदै मुग्लिन जाने यात्रु बस र साना गाडी जुगेडीदेखि १५ किलोसम्म रोक्ने व्यवस्था मिलाएको आचार्यले बताए ।
त्यसैगरी मालवाहक गाडी बिहान १०ः५० बजेदेखि नै भतेरीदेखि रामनगरको जंगलसम्म रोकेर राखिने छ । मुग्लिन हुँदै पोखराबाट नारायणगढतर्फ आउने यात्रु बस र साना गाडी बेनीटारदेखि पावरहाउससम्म र ट्रकहरूलाई आँबुखैरेनीमा रोक्ने आचार्यले बताए । काठमाडौंबाट मुग्लिन हुँदै नारायणगढ आउने बसलाई मुग्लिनदेखि केवलकारसम्म रोक्ने र ट्रकलाई लेबाटारमा रोक्ने उनको भनाइ छ ।
यो सडक राजधानी काठमाडौंको लाइफलाइन पनि भएको हुँदा बन्द गरेर काम गरेका बेलामा पर्याप्त औजार उपकरण व्यवस्था गरेर छिटो काम सक्न मंसिर २७ गते चितवन जिल्ला प्रशासनमा भएको सर्वपक्षीय छलफल कार्यक्रममा निर्माण व्यवसायीलाई अनुरोध गरिएको छ । पहाड काट्नका लागि ११ वटा मेसिन प्रयोग हुने इन्जिनियर कृष्ण आचार्यले बताए ।




