
ज्येष्ठ नागरिक सम्मान आफ्नै सम्मान
ज्येष्ठ नागरिक मानव मात्रका सम्मानका पात्र हुन् । ज्येष्ठ नागरिकसंग अपार अनुभव हुन्छ । उनीहरुले जीवनभर समय, श्रम, सीप, मिहिनेत लगानी गरेर अनुभवको निश्कर्ष संकलन गरेका हुन्छन् ।
जीवनभर पौरख गरेर आर्जन गरेका ती अमूल्य अनुभवको निश्कर्ष नयाँ पुस्तालाई सित्तै हस्तान्तरण गर्न लालयित हुन्छन् । त्यसलाई सम्मानजनक रुपमा ग्रहण गर्न सकेमा नयाँ पुस्तालाई ज्येष्ठ नागरिकले जति लगानी नगरी त्यही सिकाइ सिक्न सक्छन् ।
तर सित्तै पाइएको हुँदा नयाँ पुस्ताले ज्येष्ठ नागरिकबाट प्राप्त सिकाइको पर्वाह गर्दैनन् । नयाँ प्राप्त गर्ने दौडमा पुराना, अनुभवले खारिएका परिपक्व सिकाइको वास्ता गरिन्न । नयाँ पाउन जति दौडिए पनि कालान्तरमा पाउने त्यही ज्येष्ठ नागरिकले दिएकै अन्तिम सार हो ।
जन्म बरु निश्चित हुँदैन, तर मृत्यू निश्चित छ । मृत्यूको गन्तव्यमा ज्येष्ठ नागरिक पनि करिब–करिब अनिबार्य नै हो । त्यसैले आज ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कार बसालेमा भोलिका ज्येष्ठ नागरिक आफूलाई पनि नयाँ पुस्ताले सम्मान गर्नेछन् ।
आजका नयाँ पुस्ताले पुराना पुस्तालाई हेयको व्यवहार गरेमा भोलिका नयाँ पुस्ताले पनि आफू ज्येष्ठ नागरिक भएपछि त्यस्तै ब्यबहार गर्नेछन्, जस्तो अहिले आफूले ज्येष्ठ नागरिकलाई गरिएको छ ।
त्यसैले यो चक्रलाई मनन गर्नुपर्छ ।
व्यवहारमा घरघरमा ज्येष्ठ नागरिकलाई जस्तो व्यवहार गरे पनि अहिले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ, ज्येष्ठ नागरिकलाई सुख र खुशी दिनुपर्छ भनेर भाषण गर्न जानेका छन् । ज्येष्ठ नागरिकलाई घर परिबारसित राख्नुपर्छ, वृद्धाश्रममा राख्नु हुदैन भन्ने धारणाको पनि विकास भइरहेको छ ।
यसले सन्देश त राम्रै दिन्छ तर वास्ताविकता त्यस्तो छैन । अहिले धेरै युवाहरु वैदेशिक रोजगारमा गएका छन् । स्वदेशिक रोजगारमा पनि सहरतिर गएका छन् । ज्येष्ठ नागरिकहरु घरमा बिरह गाउँदै बसिरहेका छन् । उनीहरुले अपेक्षा गरेको जस्तो माया, ममता, सम्मान, सत्कार दिएर लालनपालन गर्नुपर्छ ।




