| सोमवार, कार्तिक २३, २०८३

हिमचितुवा र जैविक विविधता

इकोसिस्टमका बारेमा जो कोही जानकार छन् । प्रकृतिका कुनै न कुनै जीव, वनस्पति लोप भयो भने जानेर, नजानेर त्यसको दुश्प्रभाव भइ नै हाल्छ ।

चीनमा सलह समाप्त अभियानपछि त्यहाँको खोलाको माछा समाप्त भएको बारे प्रायलाई जानकारी छ । धान खाने भँगेरा नष्ट गर्दा देखिएको दुश्प्रभावपछि चीनमा नै पुनः भँगेरा संरक्षण गर्न चलाइएको अभियानको कथा पनि सुने, जानेको हो । त्यसैले जानेर वा नजानेर प्रकृतिमा रहेका हरेक प्राणी एकअर्कासित अन्तरसम्बन्धित हुन्छन् । त्यसैले कुनै जीवलाई पनि अनावश्यक भन्ने ठानेर मार्न वा समाप्त गर्न हुदैन ।

सबै कुरामा हामी दख्खल राख्न सक्दैनौँ । धेरै बिषय हाम्रो ज्ञानको क्षेत्रभन्दा गहिरा हुन्छन् । ती बिषयमा सम्बन्धित क्षेत्रका विज्ञलाई धेरथोर ज्ञान हुन्छ । त्यसैले विज्ञका कुरा सुन्नु, वुझ्ने प्रयास गर्नुपर्छ, आफै विज्ञझैँ बनेर मेरो गोरुको बाह्रैटक्का गर्नु हुन्न ।

अहिले पुरातत्व विभागले धेरै अध्ययन गरी, जाँचीबुझी बनाएको ठूलोआँगनको संरचना भत्काएर त्यहाँ नाङ्गो आँखाले हेर्दा राम्रो लाग्ने संरचना बनाउन दुश्साहस गरिएको छ । विज्ञको कुरा नसुनी आफै जान्नेसुन्ने भएर गरिएको निर्णय, चालिएको कदम दीगो हुँदैन । पद, सत्ता र शक्तिको आडमा प्राचीनत्तम संरचना भत्काएर नयाँ कलेवर दिनु पछि मुर्खता सावित हुनेछ ।
हिमचितुवाको बिषय पनि यस्तै हो । हिमचितुवाले लेकमा किसानका गोठमा रहेका याक, चौँरी, झोपा मारिदिन्छन्, खाइदिन्छन् । त्यत्ति मात्र देखेर यसलाई हानिकारक जीव ठान्ने हो भने त्यो मूर्खता हुनेछ । किसानका दुश्मन ठानेर यसलाई मार्ने, समाप्त गर्ने दुश्साहस भयो भने त्यो हानिकारक हुनेछ ।

हिमचितुवालाई अहिले विश्वभर लोपोन्मुख प्राणीको रुपमा लिइन्छ । यसले जैविक विविधताको संरक्षण गर्ने, इकोसिस्टमलाई सन्तुलित राख्ने हुँदा यसको पनि संरक्षण गर्नु हाम्रो दायित्व हुन्छ ।

प्रतिक्रिया दिनुहोस्