| सोमवार, कार्तिक २३, २०८३

दबाब दिने उग्र विधि बन्द होओस्

१२०० हेक्टर खेतमा सिँचाइ भइरहेको राइनासटार सिँचाइ आयोजनालाई असर गर्ने गरी चेपेखोला ए जलविद्युत आयोजनाको काम भइरहेको भन्दै स्थानीयबासीले शनिबार सो जलविद्युत आयोजनामा तोडफोड र आगजनी गरेका छन् ।

राइनासटार सिँचाइ आयोजनाबाट लाभान्वित करिब पाँचसय जना किसानहरु भेला भई सो आयोजनाको प्रवद्र्धक चम्पावती हाइड्रोपावर कम्पनीको कार्यालयमा तोडफोड गर्दै सवारी साधनहरुमा आगजनी गरेका हुन् । सो आयोजनाको नहरबाट लगिएको पानी सिँचाइ आयोजनाको बाँधभन्दा तल झर्ने र किसानका खेतहरुमा सुख्खा लाग्ने भन्दै किसानहरु आक्रोशित भएका हुन् ।

दशकौँ अघि निर्माण गरिएको सिँचाइ आयोजना परिवर्तन गर्न सकिँदैन, तर हालै निर्माणाधीन जलविद्युत आयोजना त परिवर्तन गर्न सकिन्छ । त्यसैले निर्माण सम्पन्न नगर्दै सिँचाइलाई असर नगर्ने गरी निर्माण गर्नुपर्ने उनीहरुको माग छ ।
माग राख्ने क्रममा उनीहरु सिँचाइ मन्त्रालय, उर्जा मन्त्रालय, चम्पावती जलविद्युत कम्पनीको कार्यालय, चेपेखोला ए को कार्यालय सबैतिर धाइसके तर किसानका कुरा पैतालामुनि राख्दै निर्माण काम धमाधम संचालन भइरहेको भन्दै आक्रोशित समूहले भौतिक आक्रमण गरेका हुन् । तोडफोड र आगजनीबाट सो आयोजनाको पाँच करोड भन्दा धेरै नोक्सानी भएको कार्यालयले जनाएको छ ।

किसानको माग सही छ । विजुलीले भन्दा प्राथमिकता खानाले पाउँछ । खाना जीवनसंग जोडिएको छ, त्यसैले विद्युत आयोजना निर्माणको काम रोकेर पनि कुलो, पैनी चालु गर्नुपर्छ । यसमा किसानको माग जायज छ ।
तर माग राख्ने, दबाब दिने भन्दैमा तोडफोड, आगजनी, भौतिक आक्रमण गर्नु मूर्खता हो ।

मुलुकमा कानूनी राज विद्यमान छ । तर कानूनलाई हातमा लिएर भौतिक आक्रमणबाट रिसिबी पोख्नु दण्डनीय हो । तसर्थ सो घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कानूनी कारबाही गर्नुपर्छ ।

तर आयोजनाले पनि भुइँमान्छेहरुको आवाजको वास्ता नगरी सिँचाइ आयोजनालाई दुश्प्रभाव पार्ने गरी काम गर्नु पनि दण्डनीय छ ।

प्रतिक्रिया दिनुहोस्