
पुरातात्विक सम्पदा चलाउनुअघि विज्ञको सुझाव जरुरी
गोरखा नगरपालिका र नेपाली सेनाले गोरखा बजारको पर्यटन विकासका लागि ठूलो आँगन क्षेत्रमा ठूलै महत्वको कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन् । ठूलो आँगनको बीचमा पृथ्वीनारायण शाहको सालिक र नेपालको नक्शा राख्ने, त्यसमा गुरुज्यूको पल्टनले परेडसहित सलामी दिने कार्यक्रम तय भएको छ ।
त्यसका लागि नगरपालिकाले करिब २२ लाख रुपैयाँ बिनियोजन गरेको छ ।
सो क्षेत्रका धेरैजसो बासिन्दाले कार्यक्रम गर्न सहमति दिए पनि केहीले असहमति जाहेर गरेका छन् । सो कार्यक्रम गर्दा सो क्षेत्रमा यातायात सेवा अवरुद्ध हुने, यातायात सेवा अवरुद्ध हुँदा सो बाटो हुदै विभिन्न ठाउँमा जानेहरुलाई असुविधा हुने उनीहरुको तर्क छ । साथै ठूलोआँगनको स्वरुप बिग्रने हुँदा सालिक ठूलो आँगनको बीचमा भन्दा अन्य ठाउँमा राख्नु पर्ने उनीहरुको भनाइ छ ।
ठूलोआँगन ऐतिहासिक, पुरातात्विक सम्पदा भएकाले यसको मौलिकता गुम्न दिन नहुने उनीहरुको भनाइ छ । साथै आँगनको बीच भागमा अन्य संरचना बनाउँदा आँगनको खुल्लापनमा ह्रास आउने, साँगुरो हुने उनीहरु तर्क गर्छन् ।
ठूलोआँगनमा तत्कालीन गोरखाली राजा पृथ्वीनारायण शाहले विदेशबाट खरिद गरी ल्याएका हातहतियार प्रदर्शन गरेका थिए भन्ने किंवदन्ती छ । यही किंवदन्तीलाई आधार मान्ने हो भने यो आँगनको इतिहास अढाइसय बर्षअघिदेखिको हो भन्न सकिन्छ ।
समयको विकासक्रमअनुसार विभिन्न संरचना बनाउने तर्क, वितर्कहरु जन्मिन्छन्, लहडहरु आउँछन् । देशका जुनसुकै पुरातात्विक सम्पदामा अन्य संरचना थप गर्नु हुन्छ कि हुदैन भनेर त्यसलाई ऐतिहासिक, पुरातात्विक नजरले हेर्नुपर्छ । पुरातात्विक मर्म र भावनामा आँच आउँछ भने त्यसलाई छुन हुदैन । यस बिषयमा अप्राविधिक स्वर जति चर्को सुनिए पनि निर्णय लिँदा पुरातत्वविदसित राय लिनु वुद्धिमानी हुन्छ ।




