
धार्चेमा उत्पादित किबीलाई बजारको ब्यबस्था गर
किसानलाई ब्यवशायिक बनाउने उद्देश्यसहित अहिले थरिथरिका अनुदानका कार्यक्रम लागु भएका छन् । कृषिमा आधुनिकिकरण नाम दिएर परम्परागत भन्दा फरक किसिमले कृषि उत्पादन बढाउने गरी स्थानीय तहहरुले करोडौँ रुपैयाँ कुखुरालाई कनिका छरेझैँ छरिरहेका छन् । यी सबै लगानी कृषि उत्पादन बढाउनमा केन्द्रित छ ।
रैथाने बाली बिस्थापित गरेर धेरै उत्पादन गर्ने नाममा हाईब्रिड बिउबिजनको प्रयोग गर्ने क्रम बढेको छ । कम्पोष्ट मल भन्दा किसानले रासयनिक मल धेरै प्रयोग गर्न थालेका छन् । यो सबै उत्पादन बढाउनमा केन्द्रित छ । धेरै उत्पादन गर्न सकियो भने प्रतिफल धेरै लिन पाईन्छ भन्ने बुझाई किसानमा पनि छ । अनुदान दिने निकाय पनि किसानको उत्पादन बढाउनमा केन्द्रित छ ।
तर उत्पादन बढाउन केन्द्रित भए झैँ बजारको खोजी गर्न भने किसानलाई सहयोग पुगेको छैन । उत्पादिन कृषि उपजको बिक्री कहाँ गर्ने भन्ने चिन्ता किसानलाई छ । ब्यवशायीक रुपमा उत्पादन गरेका हरेक बस्तु कहाँ, कसरी, कति मुल्यमा कसलाई बिक्री गर्ने भन्नेमा किसान अन्यौलमा छन् । उत्पादिन बस्तु सहजै बिक्री नभएपछि खेतीपातीमा किसानको मन मर्दै जाने गरेको छ ।
धार्चे २ को रुञ्चेत र धार्चे ६ काशिगाउँका किसानले किवी खेती ब्यवशायीक रुपमा गर्न थालेका छन् । सडक सञ्जाल सहज नभएका यी ठाउँमा किसानको किवी बजारसम्म ल्याउन वा बिक्री गर्न चुनौती छ । स्थानीय सरकारले किसानको उत्पादन सजिलै बिक्री गराउन सहयोग गरेको खण्डमा किसान किवीतर्फ थप आकर्षित र ब्यवशायिक बन्न सक्छन् ।
धार्चेको किवी मात्र होईन गोरखाको ग्रामीण भेगका किसानले उत्पादन गर्ने हरेक कृषि उपजलाई सहज बजारको ब्यवस्था हुनुपर्छ । तब मात्र किसान ब्यवशायिक बन्न प्रेरित हुन्छन् । उत्पादन बढाउने योजना बनाउँदैमा वा किसानलाई उत्पादनमा सहयोग गर्दा नै बजारको पनि योजना बनाउनुपर्छ । यसले मात्रै हामीले भनेजस्तो कृषिमा संभावना र अवसर दुबै सिर्जना गर्न सक्छ ।




