
धन्यवाद नयाँ राजनीतिक शक्ति
निवर्तमान संसदमा बोल्दै पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपाली राजनीतिक आकासमा उदीयमान नयाँ राजनीतिक शक्तिका कारण पुरानो राजनीतिक अभ्यास गरिरहेका पार्टीहरु संकटमा पर्नेतर्फ कटाक्ष गरेका थिए । सूचना र संचारको प्रचुर प्रयोगले अहिलेको पुस्ताले युग सापेक्ष ‘नयाँ विकल्प’को माग गरिरहेको महशुस गरेर उनले बेलैमा सचेत गराएका थिए । त्यतिबेलासम्म अन्य दलका नेताहरु आफ्नै धुनमा मस्त थिए ।
नभन्दै यो आम निर्वाचनमा अपूर्व दृश्यहरु देखिए । सबैले देखेको र नोट गरेको बिषय, मतदातामा देखिएको निराशा हो । त्यसपछि स्पष्ट देखिएको बिषय हो, नयाँ राजनीतिक शक्तिको पक्षमा मतपरिणाम ।
धेरथोर राजनीतिक चेत भएकाले यसको कारण र आधारहरु पनि पत्ता लगाइसकेका छन् । कारण खोज्न धेरै दिमाग खियाउन पर्दैन ।
नेतृत्वमा निहित आम जनमानसमा नपच्ने खालका चरित्र, प्रवृत्ति र कार्यशैलीका कारण ७०, ७५ बर्षको राजनीतिक विरासत बोकेका पार्टीहरुमा यसपटक क्षयीकरण भयो । अरु कसैका कारण नभई सम्बन्धित पार्टीका रथीका कारण ।
आम नागरिकलाई कार्यकर्ता सम्झने र नीजि निर्णयलाई अनुमोदन गर्न मात्र निर्वाचनको नाटक रच्ने परम्परामा यो निर्वाचनले गतिलै धक्का दिएको छ । त्यसैले यो दल, त्यो दल होइन, ठूला संज्ञा पाएका सबै दलहरु अहिले अताल्लिएका छन् । आत्मा समीक्षा गर्नुपर्ने चरणमा पुगेका छन् ।
यसका लागि सचेत र स्वतन्त्र नागरिकहरुको समूह, विदेशमा रहेर नेपाली राजनीति नियालेका र आफ्ना परिबार, छरछिमेक, इष्टमित्रहरुलाई सतर्क र सचेत गराइरहेका तप्का, तिनका सामाजिक सञ्जालका ह्याण्डल, धन्यवादका पात्र छन्, जसले राजनीतिक बिसंगति, राजनीतिक विकृतिलाई सही मार्गमा लान मार्गदर्शन गरेको छ । भासमा जान लागेको नेपाली राजनीतिलाई उकास्न मद्दत गरेको छ ।
ज्येष्ठ नागरिकप्रति श्रद्धापूर्वक यो भन्नुपर्ने बेला आयो कि, कुरा बुढाको मात्र होइन, नयाँ पुस्ताको पनि सुन्नु पर्ने रहेछ ।




