
सामाजिक सञ्जालमा स्खलित अभिव्यक्तिले कच्चा देखाउँछ
अहिले चुनावी मेलो छ । मतगणनाको प्रत्यक्षतर्फको नतिजा धमाधम सार्वजनिक भइरहेको छ । गोरखाको पनि चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रको नतिजा पनि बिहिबार बिहानसम्म आइसक्नेछ ।
देशभरको नतिजा हेरेर यतिबेला जित्ने र हार्नेका पक्षधरले आफ्ना उत्तेजना र आवेग, निराशा र कुण्ठा सामाजिक सञ्जालभरि छरपस्ट पारेका छन् । कसैले जितको खुशीयालीमा संयम गुमाएका छन्, कसैले हारको पीडामा ।
जीत–हार, सुख–दुख, मिलन–बिछोड, जन्म–मृत्यू, घाम–छायाँको चक्र बुझिसकेका, सोचेको जस्तो जीन्दगीमा हुँदैन भन्ने जान्नेबुझ्ने भइसकेका स्वनामधन्य दिग्गजहरु पनि आलाकाँचा अल्लरेले झैँ स्खलित भएर अभिव्यक्ति दिन्छन् । उनीहरु जान्दछन् कि, यो सञ्जाल आफूले लक्ष्य गरेकाले मात्रै हेर्दैनन् । सामाजिक सञ्जालमा लेखिएका सन्दर्भहरु अप्रासंगिक, असान्दर्भिक व्यक्तिले पढ्यो भने यसअघि स–सम्मानपूर्वक व्यवहार गर्दै आएकोमा पछुताउनेछन् र उसप्रति नयाँ धारणा बनाउनेछन् ।
त्यसैले चुनाव हो, जीत हार भइहाल्छ । सँधै जीत कसैले लेखेर ल्याएको छैन । त्यसैले उन्मादी व्यवहार प्रदर्शन गर्नु जरुरी नै छैन । सँधै हार कसैको भाग्यरेखामा लेखिएको हुँदैन । त्यसैले निराशाको डिग्री सुन्यमा पु¥याउनु पनि हुँदैन ।
नेपालमा चुनावी नतिजाको दृश्य जस्तो देखिएको छ, त्यो भन्दा गोरखामा अल्लि फरक खालको दृश्य छ । यसअघि पनि गोरखामा फरकै राजनीतिक दृश्य देखिन्थ्यो । यहाँका सबै क्षेत्र गठबन्धनका उम्मेद्वारले जितेका छन् । विशेषगरी यहाँ तीनवटा पार्टीका उम्मेदवार विजयी भएका छन्, कांग्रेस, माओवादी र नेसपा ।
गठबन्धनको जीतप्रति गठबन्धनका प्रतिस्पर्धी दलका कार्यकर्ताहरु त सन्तुष्ट नहुने नै भए, गठबन्धन संवद्ध दलका कार्यकर्ताकै मिश्रित प्रतिक्रिया आइरहेका छन्, जुन तमासा उनीहरुको ठाउँमा शोभनीय देखिदैन । प्रतिक्रिया दिँदा देश, दुनियाँ, वर्तमान समय, आफू रहेको धरातल सबैको हेक्का गरेर मात्र दिँदा वुद्धिमानी हुनेछ ।




