| सोमवार, कार्तिक २३, २०८३

क्यूएए प्रमाणपत्रको खुशीयाली

गोरखाको एक मात्र सरकारी क्याम्पस गोरखा क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन(क्यूएए) प्रमाणपत्र प्रदान गरेको छ । क्युएए प्राप्त गर्न २०७४ सालदेखि क्याम्पसले गरेको प्रयास अहिले सफल भएको हो । क्यूएए प्राप्त गरेपछि अब गोरखा क्याम्पसले प्रदान गरेको प्रमाणपत्र पनि विश्वबजारमा मान्यताप्राप्त हुनेछ ।

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा २०३५ सालमा गोरखा क्याम्पस स्थापना भएको थियो । ४५ बर्षको अथक सेवापछि क्याम्पसले परिपक्वताको, गुणस्तरीयताको कसीमा अब्बल दर्जा पाएको छ । त्यतिबेला क्याम्पस स्थापना हुनु नै अपार सुखद पक्ष थियो । अहिले क्यूएए प्रमाणपत्र पाउनु अर्को त्यही आकारको खुशीको बिषय हो ।

शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्द्वारा निर्धारित विभिन्न सूचकहरु सफलता पूर्वक पार गरी क्यूएए प्रमाणपत्र पाउन योग्य हुनु चानेचुने बिषय होइन । यो सफलताका लागि क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रशासन, आन्तरिक गुणस्तर सुनिश्चितता समिति, अध्यापकहरु, कर्मचारीहरु र स्वमूल्याङ्न टोली सबै धन्यवादका पात्र छन् ।

भीमकाय भवन बन्नु मात्र क्याम्पसको विकास होइन, सुन्दर वातावरण निर्माण हुनु मात्र पनि क्याम्पसको स्तरोन्नतिको सूचक होइन । शिक्षाको गुणस्तर उत्कृष्ठ हुनु महत्वपूर्ण कसी हो । यी लगायत धेरै सूचकहरु पूरा गरी क्यूएए प्रमाणपत्र प्राप्त गर्नु क्याम्पसका लागि ठूलो खुड्किलो पार गर्नु हो, त्यसैले क्याम्पसले यो सफलतालाई उत्सवकै रुपमा मनाउने पनि गर्दछ ।
क्याम्पस सफल हुनु एउटा सुखद पक्ष हुँदै हो, तर यो प्रमाणपत्र पाएपछि यो सँधै स्थायी हुँदैन ।

निश्चित अवधिमा यो नविकरण भइरहनु पर्छ । अर्थात एकपटक क्यूएए प्रमाणपत्र पाएपछि सँधै क्यूएए पूरा भएको मानिँदैन । अर्को बर्ष स्तर खस्किन पनि सक्छ । विश्वविद्यालय अनुदान आयोगले निश्चित अवधिमा पुन क्यूएए पूरा गर्ने गुणस्तरको छ वा छैन भनेर परीक्षण गरिरहन्छ । त्यतिबेला पनि सफल हुनसक्नु पर्छ । त्यसैले क्याम्पसलाई खुशीयालीसंगै यसलाई कायम राख्ने चुनौति पनि छ । त्यसमा पनि क्याम्पस सफल रहोस्, शुभकामना ।

प्रतिक्रिया दिनुहोस्