
निर्वाचन आचार संहिता उल्लंघनका घटना कम हुनु सुखद पक्ष
बिगतको भन्दा यो निर्वाचन अलिक फरक ढंगले हुँदैछ । विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न नसके पनि निर्वाचनलाई कम खर्चालु र तडकभडकरहित बनाउन निर्वाचन आयोगले गरेको यो अभ्यास निकै सह्राननीय छ ।
यो निर्वाचनमा भोट माग्न नारा जुलुस पटक्कै देखिएका छैनन् । खुल्ला सभाहरु पनि थोरै समयका लागि खुल्ला गरियो । त्यहाँ पनि धेरै तडकभडक देखिएन ।
निर्वाचनपूर्व, निर्वाचनका बेला र निर्वाचनपछिको समेत सुपरिवेक्षण गर्ने एक संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले निर्वाचन पूर्वको सुपरिवेक्षण गर्दा बिगतको जस्तो आचार संहिता उल्लंघनको घटना ज्यादा नदेखिएको जनाएको छ ।
निर्वाचन आयोगले उम्मेदवारहरुलाई प्रचारप्रसारका लागि निश्चित मापदण्ड तोकेको छ । ती मापदण्ड उल्लंघन गरे तत्काल कारवाही गर्ने, जरिवाना तिराउने तथा उम्मेदवारी नै खारेज गर्नेसम्मको नीति, नियम बनाएको छ ।
त्यसैले पनि हुनसक्छ, अहिले उम्मेद्वारहरु, उनका नेता, कार्यकर्ताहरु सतर्क, सजग, इमान्दार र संयमित छन् । मोबाइलमा फोन गरेका छन्, एसएमएस पठाएका छन् । भिडियो बनाएका छन् । डिजिटल माध्यम धेरै अपनाएका छन् तर बिगतमा जस्तो यसपटक भित्ते लेखन छैन, तुल, व्यानर, पर्चा, पम्प्लेट, पोस्टर छैनन् । खेतमा धान काट्न जाने, मतदाताले जे काम गरिरहेका छन्, त्यस्तै नौटंकी गर्ने जस्ता लज्जास्पद दृश्य पनि यसपटक देखिएको छैन ।
प्रचार टोली घरदैलोमा छन् । प्रलोभन त अनेक छन्, आश्वासन त असीम छन् तर भद्दा प्रचार शैली छैन ।
यदाकर्ता सदरमुकामकै सडकमा साना पार्टीहरुले सडक माइकिङ गरिरहेका छन् । यसबाहेक ठूला पार्टीहरु संयमित नै छन् ।
अब मौन अवधि सुरु हुँदैछ ।
यस अवधिमा अवाञ्छित तिक्डम हुनसक्छ भनेर निक्कै सतर्कतापूर्वक हेरिन्छ । यो अवधिमा पनि शंका गरे अनुसारका काम भएनन् र मतदानका दिन पनि शान्त, भयरहित र धाँधलीरहित चुनाव होओस ।




