
सम्झेलान् त नेताले सीमा नाका खुलाउन चुनावी आस्वाशन
चुनावी कार्यक्रम लिएर उत्तरी गोरखा पुगेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, गोरखा १ का उम्मेद्वार राजेन्द्र बजगाईँ र प्रदेश उम्मेद्वार नन्दप्रसाद न्यौपानेलाई स्थानीयबासीले ठाउँठाउँमा ज्ञापन पत्र पेश गरेका छन् ।
छेकम्पार, सामागाउँ र सिर्दिबासमा पेश गरिएको ज्ञापनपत्रमा बिगत तीनबर्षदेखि बन्द रहेको नाका खुल्ला गरिदिन माग गरेका छन् ।
भाषणका क्रममा तीनैजना नेताले नाका खुलाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उत्तरी गोरखाको विशेषगरी चुमनुब्री गाउँपालिका, गाउँपालिकाको पनि विशेषगरी छेकम्पार, चुम्चेत, सामागाउँ, ल्हो र प्रोक सीमापारिको बजारमा निर्भर छन् । यता उत्पादन भएका जडिबुटी तिब्बती बजारमा बेच्ने र त्यहाँबाट दैनिक उपभोग्य अत्यावश्यक सामग्री आयात गरेर जीविकोपार्जन गर्ने उनीहरुको बर्षौँदेखिको परम्परा हो ।
तर कोभिड १९ फैलन थालेपछि सीमा नाका बन्द भयो । त्यसयता सामागाउँमा रहेको रुइला नाका र छेकम्पारमा रहेको ङुइला नाका ठप्प छ ।
यसअघि पनि नाका खुलाउन माग गर्दै त्यस क्षेत्रका जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवा, राजनीतिक दलका नेताहरुले नेपाल सरकारको गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय, पूर्व प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा, नेपालस्थित चिनियाँ दूतावास लगायत धेरै निकायको ढोका ढक्ढक्याएका थिए । तर उनीहरुको आशाको बाटो खुल्दै खुलेन ।
चुनावी कार्यक्रममा घरदैलो गरिरहेका नेतालाई स्थानीयबासीले माग राख्नु नियमित प्रक्रिया हो । नेताले उनीहरुको माग सयका सय पूरा गरिदिने प्रतिवद्धता व्यक्त गर्ने पनि नियमितै प्रक्रिया हो ।
दुर्गमबासीका असाध्यै मर्मस्पर्शी मागलाई नियमित प्रक्रियाका रुपमा नगण्य रुपमा लिने हुन् कि भन्ने स्थानीयबासीमा चिन्ता छ । यसअघि पनि समस्या समाधानका लागि हारगुहार गर्न कहाँ बाँकी छ र ? अनि समाधान गरिदिने आश्वास पनि कसबाट नपाएका हुन् र ? तर यसपटक उनीहरुको मागलाई नजरअन्दाज नगरियोस् ।




