
सीमा नाका खुलाउन उम्मेद्वारहरु किन मौन
उत्तरी गोरखाको विशेषगरी चुमनुब्री गाउँपालिका, गाउँपालिकाको पनि विशेषगरी छेकम्पार, चुम्चेत, सामागाउँ, ल्हो र प्रोक सीमापारिको बजारमा निर्भर छन् । यता उत्पादन भएका जडिबुटी तिब्बती बजारमा बेच्ने र त्यहाँबाट दैनिक उपभोग्य अत्यावश्यक सामग्री आयात गरेर जीविकोपार्जन गर्ने उनीहरुको बर्षौँदेखिको परम्परा हो ।
तर कोभिड १९ फैलन थालेपछि सीमा नाका बन्द भयो । त्यसयता सामागाउँमा रहेको रुइला नाका र छेकम्पारमा रहेको ङुइला नाका ठप्प छ ।
नाका खुलाउन माग गर्दै त्यस क्षेत्रका जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवा, राजनीतिक दलका नेताहरुले नेपाल सरकारको गृहमन्त्रालय, परराष्टू मन्त्रालय, पूर्व प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा, नेपालस्थित चिनियाँ दूतावास लगायत धेरै निकायको ढोका ढक्ढक्याए । तर उनीहरुको आशाको बाटो खुल्दै खुलेन ।
अहिले निर्वाचन आइरहेको छ । नेताहरु घरदैलोमा भोट माग्न व्यस्त छन् । विभिन्न ठाउँमा सभाहरु पनि भएका छन् । सबै उम्मेदवारहरुले आ(आफ्ना घोषणा पत्र तथा प्रतिवद्धता पत्रहरु पनि प्रकाशन गरी वितरण गरिसकेका छन् तर कुनै उम्मेद्वारका प्रतिवद्धतापत्र, घोषणा पत्रहरुमा जनजीवन कष्टकर गराउने गरी बन्द गरिएको चिनियाँ सीमा नाका खुलाउने बारे खुलाइएको छैन ।
उनीहरुले अहिले भोगिरहेको सबैभन्दा चर्को पीडा बारे जानकार नभएर पनि हुनसक्छ अथवा अन्तर्राष्टिूय विषय छुँदा विदामा परिने भयले पनि हुनसक्छ उनीहरुले यसबारे मुख नखोलेको । डराउनु भन्दा पनि आफ्ना देशका बासिन्दाले भोगिरहेको पीडाका बिषयलाई गम्भीरताका साथ लिनु पर्छ ।
पहल सम्भव हुन्छ वा हुँदैन, दोस्रो बिषय हो तर त्यस बिषयमा पहल गर्ने बारे प्रतिवद्धता वा घोषणा पत्रमा उल्लेखै नगर्नु राम्रो कुरो होइन । तसर्थ नेता, उम्मेद्वार वा सम्बन्धित निकायले उत्तरी गोरखाका बासिन्दाले भोगिरहेको सीमा नाका बन्दको बिषयलाई उठाउन चुक्नु हुदैन ।




