
खुशीको रङ छर्ने लायन्स क्लव
समस्यारहित मान्छे बिरलै हुन्छन् । सुख र दुख एकै सिक्काका दुई पाटा जस्ता हुन् । गुन र बैगुन पनि एक अर्काका पुरक हुन् ।
मान्छेमा सुख र दुख ल्याउन मानसिक कारणको अहम भूमिका हुन्छ । यद्यपि शारीरिक समस्याको भूमिका पनि कम रहन्न । कान नसुन्ने, आँखा नदेख्ने, बोल्न नसक्ने, हिड्न नसक्ने वा हात नचल्ने जस्ता समस्याले पनि मान्छेको जिन्दगीलाई दुखदायी बनाइरहेका हुन्छन् । दुखी बनाउनमा बाह्य शरीरका समस्या भन्दा अन्तरशरीरका समस्याको त झन धेरै भूमिका रहन्छ ।
आँखा हुनेहरु सबै खुशी, सुखी हुन्छन् भन्न खोजिएको त होइन, तर आँखा नहुँदा मान्छेका लागि संसार बेरङ्गी हुन्छ । आफूलाई जन्म दिने आमा, बुबासमेत देख्न नपाइने, यतिबिघ्न रमाइलो रंगीन संसार पनि देख्न नपाउँदा उनीहरुमा असीम दुख हुन्छ ।
कोही जन्मजात आँखा नदेख्ने, कोही मोतियाविन्दू वा अन्य विभिन्न समस्याका कारण आँखा देख्दैनन् । समाधान गर्न नसकिने समस्या भए त कसैको केही सीप चल्दैन ।
समाधान गर्न सकिने अबस्थामा छ भने र यदि समस्या समाधान भएमा उनीहरुमा असीम खुशी उत्पन्न हुन्छ । यतिबेलाको खुशी मापन गर्ने उपकरण भए, त्यो धेरै उच्चस्तरको खुशी हुनेछ । बेरङको संसार तत्काल झलमल्ल देख्न पाउँदा जो कोही असीम खुशी हुनेछन् ।
यही खुशी भर्ने, खुशीको रंग छर्ने काम गरिरहेको छ, लायन्स क्लव अफ गोरखाले । क्लवले बिगत लामो समयदेखि दुर दराजका सर्वसाधारण आँखाको रोगले थलिएकाहरुको समस्या समाधान गरिरहेको छ ।
हिमालय आँखा अस्पताल पोखरासित समन्वय गरी क्लवले नियमित रुपमा हरेक महिनाको १९, २० र २१ गते आँखाको अपरेशन शिविर सञ्चालन गरिरहेको छ । जसले गर्दा दूर दराजका गाउँबस्तीका आँखाका रोगीहरुले ठूलो राहत पाइरहेका छन् ।




