
आचार संहिता कार्यान्वयन र उल्लंघनको सघन निरीक्षण गरौँ
प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचन २०७९ को दिन नजिकिँदै छ । मंसीर ४ गते हुने निर्वाचनका लागि अब जम्मा १४ दिन बाँकी छ । यतिबेला जिल्ला चुनावमय भएको छ ।
मतदाता, नेता, कार्यकर्ताहरु गाउँगाउँमा छन् । दुई निर्वाचन क्षेत्र र चार प्रदेश निर्वाचन क्षेत्रका हर गाउँमा यतिबेला भोट माग्न नेता कार्यकर्ताहरुको दौडधुप छ । उनीहरुले आफ्ना पार्टी, आफ्ना उम्मेद्वारका पक्षमा भोट मागिराखेका छन् ।
निर्वाचन आयोगले पनि चुनावको प्रचारप्रसारका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरु खटाउने गरी तालिम दिएको छ । उनीहरुले मतदानमा सहभागी हुन, मत बदर नगरी प्रयोग गर्न, शान्त, भयरहित र निश्पक्ष रुपमा मतदान कार्य सम्पन्न गर्न प्रशिक्षित गर्नेछन् ।
प्रचारप्रसारका क्रममा निर्वाचन आयोगले लागु गरेको आचार संहिता कार्यान्वयन हुने वा नहुने भन्ने बारेमा अनुगमन गर्न जिल्लास्तरमा अनुगमन समिति गठन भएको छ । समिति पनि आफ्नो भूमिकाप्रति पक्कै जिम्मेवार भएर लागिरहेको छ ।
हेभिवेट उम्मेद्वार भएकाले गोरखा जिल्लाको निर्वाचन राष्टिूय चासोको बिषय बनेको छ । राष्टिूयस्तरका, प्रदेश स्तरका मिडियाका प्रतिनिधिहरु पनि जिल्लामा आउने क्रम तीब्र छ । पर्यवेक्षकहरुको चासो पनि उत्तिकै छ । त्यसैले यहाँको निर्वाचन रोचक छ ।
मतान्तरमा नयाँ रेकर्ड कायम गर्ने भनेर गठबन्धन दल लागि परेका छन् । सो दौडमा ती दलहरुबाट विभिन्न गल्ती, त्रुटीहरु हुनसक्छन् भन्ने आशंका छ । त्यसप्रति आचार संहिता अनुगमन गर्ने र पालना गर्न लगाउने निकायले कडा निगरानी गर्नुपर्ने देखिन्छ । अन्यथा गोरखाको नाम नकारात्मक रुपमा फैलिने त्रास छ ।
लोकतन्त्रमा निर्वाचन महाउत्सव हो । मुलुक हाँक्ने नेता चयन गर्ने यस उत्सवलाई दुखद नभै सुखद बनाउनेतर्फ सबैको दायित्व हुनुपर्छ ।




