
भोट चाहिनेहरु मतदाताको घरदैलोमा पुग्नुपर्छ
सहरका महासेठहरुको पनि एउटै भोट हो, गाउँका तन्नम गरिबको पनि त्यही एउटै भोट हो । संभ्रान्त परिबारले दिएको भोटको जत्ति महत्व हुन्छ, विपन्न बर्गले दिएको भोटको महत्व पनि त्यत्ति हो ।
सुगममा सुखसयलमा बसेकाको हृष्टपुष्ट हातले दिएको भोट र दुर्गममा घामपानी पचेर साह्रो भएको हातले दिएको भोटको शक्ति पनि उही हो । तर हाम्रा उम्मेद्वारहरु सहरका उच्च खानदानको भोटका लागि सहरी क्षेत्रमा, सुगम क्षेत्रमा मरिहत्ते गरेर हिँडिरहेका छन् । कोही धान काट्दै मतदाता रिझाउँदैछन्, कोही गाईभैँसीको गोठको काम गरेर नौटंकी गरिरहेका छन् ।
दुर्गममा भने भोट माग्न कोही पनि आएनन् कसलाई भोट दिने निश्चित भएन भनेर अल्मल्लिएर बसिरहेका छन् ।
‘भोट माग्न त नआउने उम्मेदवार चुनाव जितेपछि हाम्रो गाउँमा फर्केर आउला त ?’, ‘हाम्रो दुख, सुखमा साथ नदिनेलाई भोट किन दिने ?’, ‘हाम्रो गाउँठाउँको समस्या देख्न र बुझ्न नआउनेलाई किन भोट दिने ?’, ‘हाम्रो गाउँमा सँधै उम्मेदवार नआउने ? खेताला मात्र पठाउने ?’, ‘हाम्रो गाउँमा त उम्मेद्वारको खेताला पनि आएको छैन’ जस्ता गुनासाहरु दुर्गम गाउँबस्तीतिर बग्रेल्ती सुन्न पाइन्छ ।
दुर्गम गाउँठाउँमा मतदाता भेट्न उम्मेद्वार नपुग्नु मतदाताको अपमान हो । विभिन्न उम्मेद्वार आउलान्, सुख, दुखका कुरा सुनाउँला, विकास माग मागौँला भन्ने आशा पालेर बसेका मतदाता उम्मेद्वारको उपेक्षाले आकुलव्याकुल हुनेछन् ।
आफ्नो आस्था लागेको पार्टीको नेता आउलान् र भावनात्मक सम्बन्ध कायम गरौँला भनेर व्यग्र प्रतिक्षा गरेका सर्वसाधारण मतदाता उम्मेद्वारको खेताला मात्र आइपुग्दा उदास, निराश हुन्छन् । उम्मेद्वार भने गाउँका ठूलाठालु नेतालाई टेलिफोन गरी गाउँलेसित भोट मागिदिन आग्रह गरिरहेका छन् ।
फलतः मतदान गर्नै नजाने अथवा मतदान गर्न गए पनि लापार्बाहीपूर्वक अन्धधुन्ध भोट हाल्दिने, बदर गराइदिने हुनसक्छ । तसर्थ समयसीमाले दिएसम्म आचारसंहिताले नरोकेसम्म उम्मेद्वारहरु सबैतिर पुग्नैपर्छ ।




