
डाक्टर कुट्नेलाई हदैसम्म कारबाही होओस्
गत कात्तिक ६ गते गोरखा अस्पतालमा ड्युटीमा रहेका डाक्टर अविनाश पराजुलीमाथि केही उच्छृङ्खल जत्थाले आक्रमण गरे । थाइराइडको समस्याबाट उपचार राउन आएकी एक बिरामीको रिपोर्ट आफूभन्दा सिनियर चिकित्सकबाट परीक्षण गराएर थप सेवा दिने चिकित्सकको भनाइपछि आक्रोशित भएका उनका आफन्त तथा आफन्तले उक्साएका उच्छृङ्खल तीनजनाले डाक्टर पराजुलीमाथि आक्रमण गरेका हुन् ।
अस्पताल प्रशासनको जाहेरीका आधारमा प्रहरीले गोरखा नगरपालिका वडा नं ९ का २८ वर्षका समीर कुँवर, सोही ठाउँका १९ वर्षका अनुप बस्नेत र गोनपा ३ का २६ वर्षका प्रमोदजंग कुँवरलाई पक्राउ गरेको छ । उनीहरुले डाक्टरलाई कार्यकक्षभित्रै ढोका थुनेर चुकुल लगाई कुटपिट गरेको डाक्टरको भनाइ छ ।
बिरामीलाई उपचार सेवा दिने चिकित्सकमाथि निमर्म कुटपिट गर्ने यो अत्यन्त निन्दनीय घटना हो, त्यसैले उनीहरुमाथि हदैसम्मको कारबाही गर्नुपर्छ भन्ने अस्पताल प्रशासनको माग छ ।
पहिले जन्म घर वा कार्यस्थल जहाँतहीँ पनि हुनसक्थ्यो, मृत्यू पनि घर वा जहाँकहीँ हुनसक्थ्यो तर अहिले समय बदलिएको छ । एकाधबाहेक प्रायको जन्म अस्पतालमै हुन्छ, र मृत्यू पनि । उपचार गर्दागर्दै बिरामी मरेका कैयौँ उदाहरण छन् । बिरामी मारौँ भन्ने कुनै चिकित्सकको नियत हुदैन, नियतिले कसैको मृत्यू हुन्छ । यस्तो अबस्थामा पनि चिकित्सकमाथि कुटपिट, अस्पतालमाथि आक्रमण गर्न कहाँ पाइन्छ र ? तर यहाँ चिकित्सकले सिनियरलाई रिपोर्ट देखाएर थप उपचार गर्ने कुरा गर्दैमा कुटपिट गर्नु पशुवत व्यवहार हो ।
चिकित्सकमाथि मात्र होइन, कसैले कसैमाथि पनि कुटपिट गर्नु दण्डनीय हो । यस्ता घटनामा जो कसैलाई दण्ड सजायँ गर्नु कानूनका पालक, रक्षकको कर्तव्य हो । आम जनचाहना पनि बदमासी गर्नेमाथि कानूनी कारबाही हुनुपर्छ भन्ने नै हुन्छ । यही जनचाहनाअनुसार कानून कार्यान्वयन गर्ने निकायले काम गर्नुपर्छ । यसमा हस्ताक्षेप कसैले गर्नु पनि हुँदैन । अन्यथा हस्ताक्षेप गर्नेको कुनै न कुनै दिन पहिचान खुल्नेछ अनि ती समाजमा नांगिनेछन् ।




