
शुभ होस् तिहार
नेपालमा मनाईने चाडपर्व मध्ये हिन्दु धर्मालम्बीहरुले दोस्रो ठुलो चाडको रुपमा तिहार मनाउने गर्छन् । शनिवारदेखि यमपञ्चक सुरु भएसँगै तिहारको रौनक देखिन थालेको छ । दाजु भाईले दिदीबहिनीको हातबाट सप्तरङ्गी टिका लगाएर मनाईने तिहारको छुट्टै धार्मीक महत्व छ ।
यस वर्ष यमदीपदान शनिबारदेखि सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको छ । आइतबार बेलुकीसम्म त्रयोदशी तिथि छ । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा सोमबार एकै दिन परेको छ । तिहार मनाउन घर फर्कने क्रम सुरु भएको छ । सार्वजनीक सवारी साधन खचाखच हुन थालेका छन् । बजारमा किनमेल गर्नेको पनि घुँईचो लागेको छ ।
दिदीबिहिनीको हातबाट दाजुभाईले टिका ग्रहण गर्ने मुख्य पर्व भएकाले दशैँ जस्तो शहर सुनसान गाउँ भरिभराउ भने तिहारमा देखिँदैन । झिलिमिली बत्तीको उज्यालोले शहरीक्षेत्रमा रौनक देखिन थालेको छ । देउसी भैलो पनितिहारको एउटा आकर्षण हो । गोरखा सदरमुकामको बजारक्षेत्र लगायत आसपासमा देउसी भैलोसुरु भईसकेको छ । यो अवसरमा मानिसहरु एक आपसमा भेटघाट, खुसी साटासाट र घुमफिर गर्ने पनि गर्छन ।
तिहारलाई हामीले एउटा पर्वको रुपमा मनाईरहँदा केही बिकृती भने बढ्दो छ । तिहारमा धेरै जुवा तास खेल्ने गरेको पाईन्छ । लाखौँ हारजित हुने गरी जुवा खेल्ने क्रम रोकिएको छैन । देउसी भैलोको नाममा राती अबेर सम्म होहल्ला गर्ने, मदिरा सेवन गरेर हिँड्ने, झैझगडा गर्ने गर्नुहुँदैन । यसलाई प्रशासनले नियन्त्रण गर्नुपर्छ । सर्वसाधारण पनि सचेत हुनुपर्छ । चाडर्वको बेला हाम्रो सानो गल्तीले ठुलो दुर्घटना हुन सक्छ, यसतर्फ सबै सचेत हुनुपर्छ ।
पटका पड्काउने, अतासबाजी गर्ने जस्ता काम गर्नहुँदैन । आगलागी हुने, मानिसको शारीरिक अङ्ग पोलिने, ठुलो आवाजले श्रवण शक्ति गुम्ने खतरा हुन्छ । यी सबै कुरामा ध्यान दिएर संस्कार संकृतीको पहिचान स्थापित हुने गरी तिहार मनाउनुपर्छ । न कि भड्किलो, खर्चिलो, नसामा डुबेर मनाईने तिहारले वर्षभरी पिर थोपर्न सक्छ । आफु पनि सचेत बनौँ, सबैलाई सचेत गराऔँ । तिहार सबैको शुभ होस् ।




