| सोमवार, कार्तिक २३, २०८३

मणिकामदेवी माविको कार्य अनुकरण गर्न लायक

मणिकामदेवी मावि लाप्राकले अहिले नयाँ अभ्यास सुरु गरेको छ । भौतिक पक्ष सुधार भए पनि शैक्षिक पक्ष सुधार नभएपछि विद्यालयले नयाँ अवधारणाको विकास गरेको छ ।

विद्यालयले अभिभावकसित बालबालिकालाई राखेर पढाउने अभ्यास सुरु गरेको छ । गत असोजको २७ गतेदेखि यो अभ्यास सुरु गरेको हो । यो अभ्यास धेरै प्रभावकारीसिद्ध हुनेछ ।

बालबालिकाको पहिलो गुरु उनका आमाबाबु हुन् । त्यसपछिका गुरु स्कूलका शिक्षक, शिक्षिका हुन् ।
अहिले लाप्राकका बालबालिकाहरु पहिलो गुरु र दोस्रो गुरु संगसंगै बसेर पढ्न थालेका छन् । विद्यालयको भौतिक पूर्वाधार जति सुधार गरे पनि शैक्षिक अबस्था देशभर नाजुक बन्दै गएकोतर्फ चिन्तित हुँदै विद्यालय प्रशासनले एउटा जुक्ति लगायो, हरेक दिन, हरेक कक्षामा एक न एक विद्यार्थीलाई उनीहरुको अभिभावकसित राखेर पढाउने ।

यसले दुइटा फाइदा हुने भयो । पहिलो फाइदा विद्यार्थीलाई हुने भयो किनकि, एकातिर शिक्षक, शिक्षिका, अर्कातिर बुबा आमा भएपछि घरको कुरा स्कूलमा ढाँट्न पाइएन, स्कूलको कुरा घरमा ढाँट्न पाइएन । बिभिन्न झुठा बहाना बनाएर विदामा बस्न पाइएन । अर्कातिर कक्षाभित्र अभिभावक भएपछि शिक्षक, शिक्षिका पनि सजग, सतर्क हुन्छन् । आलटाल गर्ने, ढिलासुस्ती गर्ने, ठग्ने, विभिन्न खालका हर्कत गर्ने मौका पाउँदैनन् । जसले गर्दा विद्यार्थीको शैक्षिक गुणस्तर उकासिने निश्चित हुन्छ ।

आफ्ना सन्तान केमा कमजोर भए, किन कमजोर भए, कसरी स्तरउन्नति गर्न सकिन्छ आदि अन्तरक्रिया हुने भएकाले पनि उनीहरुको शैक्षिक अबस्थामा सुधार आउनेछ ।

तेस्रो फाइदा पनि छ, तर यो अदृश्य फाइदा हो र थोरै अंशमा मात्र हुने फाइदा हो ।
जुन अभिभावक निरक्षर छन्, जुन अभिभावकमा नयाँ चेतको अभाव छ, उनीहरुले कक्षामा बस्दा नयाँ नयाँ कुरा सिक्न पाउँछन् । उनीहरुमा पनि वृत्ति विकास हुन्छ । त्यसैले मणिकामदेवी माविले अवलम्बन गरेको यो कार्यक्रम ज्यादै प्रभावकारी छ । अरु विद्यालयहरुले पनि देखासिकी गर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्