| सोमवार, कार्तिक २३, २०८३

खाद्य विक्री केन्द्र स्थापनाको प्रयास सफल भए, धेरै फलदायी

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपो गोरखाको दुई ठाउँमा छन्, माछाखोला र सिर्दिबास(फिलिम)मा । माछाखोलामा मोटरबाटो पुग्यो, मोटर चल्न थाल्यो । त्यहाँ अब सरकारी ढुवानी अनुदानको चामलको खाँचो रहेन । त्यसलाई चुमनुब्री ४ नाम्रुङमा स्थापना गर्नु धेरै व्यवहारोपयोगी हुने थियो ।
यो व्यवहार पक्षलाई मनन गरी जिल्ला स्तरको खाद्य व्यवस्था समितिले धेरै पटक निर्णय गरेर माथिल्लो निकायमा पत्राचार गरेको हो, तर आजसम्म यसको सुनुवाई भएको छैन । अहिले गत आइतबार फेरि सोही समितिको बैठक बसी खाद्य डिपो स्थापना वा स्थानान्तरण गर्न नसके पनि त्यो भन्दा सानो एकाइ खाद्य विक्री केन्द्र स्थापना गर्न पहल गर्ने निर्णय गरी माथिल्लो निकायमा पत्राचार गरेको छ ।
यो निर्णय पनि धेरै नै सान्दर्भिक छ ।
हरेक पहल सफल हुँदैनन् । यो पहल सफल भए अति उत्तम हुनेछ, किनभने चुमनुब्री गाउँपालिका गोरखाको मोटरबाटो नपुगेको, गाडी नचल्ने एकमात्र गाउँपालिका हो । यहाँको सिर्दिबास डिपोले मात्र खाद्यान्न विक्री गर्दा दुई दिनको बाटो टाढा पर्ने छेकम्पार र तीन दिनको बाटो टाढा पर्ने साम्दो, सामागाउँसम्म पुग्न कठिन छ ।
तीन दिनको बाटो हिडेर आफ्नो कोटा दाबी गर्न कोही आउँछन्, कोही आउँदैनन् । त्यसैले अधिकांश कोटा सिर्दिबासले नै खपत गरिदिन्छ । अनि सदरमुकामबाट ५० कोश, ५२ कोश टाढा रहेका छेकम्पार, सामागाउँका बासिन्दा सरकारी सहुलियत सुविधाबाट बञ्चित हुनेछन् । बर्षौँदेखि चलिआएको यही हो ।
त्यसैले यदि नाम्रुङसम्म र चुम्लिङसम्म खाद्य विक्री केन्द्रसम्म भए पनि स्थापना भयो भने सुदूर उत्तरी क्षेत्रका बासिन्दा लाभान्वित हुने थिए ।
जिल्ला स्तरको खाद्य व्यवस्था समितिले गरेको निर्णय कार्यान्वयन गराउन केन्द्रीय नीति निर्माण तहसम्म दबाब सिर्जना गर्न राजनीतिक नेतृत्वले नै पहलकदमी लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्