| सोमवार, कार्तिक २३, २०८३

गोरखा अस्पताल र निक साइमन फाउण्डेशनको साइनो

बिहिबार बिहान गोरखा सदरमुकाममा लगालग दुईवटा हेलिकोप्टर उत्रियो । एउटामा आएका थिए, निक साइमन फाउण्डेशन इन्टरनेशनलका अध्यक्ष जिम साइमन र अर्कोमा थिइन् उनकै पत्नी मेरिलिन साइमन । ८४ बर्षका साइमन दम्पत्तिसित नेपालको स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेल, अतिरिक्त स्वास्थ्य सचिव गुणराज लोहनी, पूर्व स्वास्थ्यमन्त्री तथा साइमन फाउण्डेशन नेपालका अध्यक्ष विद्याधर मल्लिक, कार्यकारी निर्देशक अर्चना अमात्य, वरिष्ठ कार्यक्रम संयोजक कासिम शाह । उनीहरु गोरखा अस्पतालको विद्यमान अबस्थाको अवलोकन गर्न आएका थिए ।

गोरखा अस्पतालले एक बर्षअघिदेखि नयाँ भवनबाट सेवा दिइरहेको छ ।
यसअघि स–साना कोठाबाट असुविधायुक्त अबस्थामा सञ्चालित सो अस्पताल अहिले नयाँ र सुविधाले भरिभराउ भएको भवनबाट सेवा दिइरहेको छ । यो अबस्था देखेपछि साइमन दम्पत्ति हर्षित भएका थिए, किनभने उनीहरुले आर्थिक सहयोग गरेका त्यहाँ सेवा सन्तोषजनक रुपमा प्रवाह भइरहेको थियो ।

विश्वका सर्वाधिक धनीको सूचीमा रहेका साइमन दम्पत्तिका छोरा सन् २००३मा अमेरिकाबाट नेपाल भ्रमणमा आएका थिए । नेपालको सुन्दरताबाट आल्हादित तथा यहाँको स्वास्थ्य अबस्था देखेर निराश भएर अमेरिका फर्कने क्रममा उनको इण्डोनेशियामा मृत्यू भएको थियो । उनको डायरी हेर्ने क्रममा उनले नेपालको स्वास्थ्य सुधारका लागि काम गर्ने प्रतिवद्धता प्रकट गरेको लेखिएको थियो ।

प्यारो छोराको सपना साकार पार्ने उद्देश्यले साइमन दम्पत्तिले निक साइमन फाउण्डेशन इन्टरनेशनल स्थापना गरी नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि काम सुरु गरेका थिए । सरकारसित समन्वय गरी अघि बढाइएको सो फाउण्डेशनको कार्यक्रमभित्र गोरखा अस्पताल पनि संलग्न छ । यहाँ बर्षको दुई करोड ४० लाख रुपैयाँ प्राप्त हुन्छ । जसले अस्पतालमा कर्मचारी राख्ने, उपकरण खरिद गर्ने काम हुने गर्छ ।
अस्पताल अवलोकनका क्रममा साइमन दम्पतिले सो कार्यक्रम कम्तिमा पाँच बर्ष सञ्चालन गर्ने बताए । सो सहयोगलाई गुणात्मकतातिर लैजानु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्