| सोमवार, कार्तिक २३, २०८३

विद्यालय नर्सको पद यथासीघ्र पूर्ति गर

यसअघिको नेकपा सरकारले कक्षा छसम्मका विद्यार्थीहरुलाई खाजा कार्यक्रम र नगरपालिकाभित्र विद्यालय नर्स सेवाको पाइलट कार्यक्रम लागु ग¥यो । खाजा कार्यक्रम सबै विद्यालयमा लागु भए पनि विद्यालय नर्स कार्यक्रम गोरखा जिल्लामा गोरखा नगरपालिकाभित्र मात्र सेवा सञ्चालन भयो ।

यी दुवै कार्यक्रम धेरै प्रभावकारी कार्यक्रम रहे । खाजा कार्यक्रमले विद्यालय छाड्ने दर घटायो । विद्यालय नियमित जाने क्रम बढायो । बालबालिका यसै खुशी रहे, खाजाका लागि घरमा पिरोल्ने क्रम अन्त्य भएसंगै गरिब अभिभावक धेरै खुशी रहे ।

त्यस्तै सरकारले विद्यालय नर्स सेवा पाइलटिङका रुपमा लागु गर्दा यसको प्रभावकारिता पनि धेरै महत्वपूर्ण छ । विद्यालय भनेको बालबालिका पढ्ने मात्र नभै खेल्ने ठाउँ पनि हो । धेरै चकचक गर्ने उमेरका बालबालिका विद्यालयमा हुन्छन् ।

उनीहरुलाई चोटपटक लागि रहन्छ । व्यक्तिगत सरसफाइमा ध्यान नहिँदा पेट दुख्ने, टाउको दुख्ने वा विभिन्न समस्याहरुले गाँज्छ । महिनावारी हुने बालिकाहरुलाई सेनिटरी प्याड उपलब्ध गराउने वा विभिन्न सरसल्लाह दिने काम पनि नर्सले दिने गर्छन् । भिटामिन चक्की वा विभिन्न खोप कार्यक्रम पनि उनीहरुमार्फत प्रभावकारी कार्यान्वयन हुन्छ । त्यसैले यो धेरै महत्वपूर्ण कार्यक्रम हो ।

तर केही समययता विद्यालय नर्सहरु विभिन्न अवसरको पछि लाग्न थाल्दा विद्यालय छाड्ने क्रम बढेको छ । घलाङको राष्ट्रिय मावि र नारेश्वरको विन्ध्यावासिनी माविमा काम गर्ने नर्सले गतबर्ष नै विद्यालय छाडेकी हुन् । त्यस्तै गोरखा शक्ति मावि र महेन्द्रज्योति माविमा काम गर्ने गरी नियुक्त भएका नर्सले पनि आलापोलो गर्दै सेवा दिँदै आएका छन् ।

उनीहरुले विद्यालय छाड्दा विद्यार्थीहरुको समग्र स्वास्थ्य, सरसफाई, पोषण, मानसिक स्वास्थ्य, किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य प्रवर्धन गर्न, सरुवा र नसर्ने रोग रोकथाम बारेमा विद्यार्थी बिमुख भएका छन् । त्यसैले नर्सहरुले छाडेर रिक्त रहेका पदहरु यथासीघ्र पूर्ति गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्