
खर्च विवरण पेश नगर्ने उम्मेदवारलाई स्पष्टीकरण दिन आयोगको निर्देशन
स्थानीय निर्वाचनमा उम्मेदवार भई खर्च विवरण पेश नगर्ने उम्मेदवारले सात दिनभित्र स्पष्टीकरण दिनुपर्ने भएको छ । निर्वाचन आयोगले खर्च विवरण पेश नगरेको स्थानीय तह र जिल्ला समन्वय समितिका उम्मेद्वारलाई तत्काल स्पष्टिकरण दिन निर्देशन गरेको हो ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनी निर्वाचन आयोगमा खर्च विवरण पेश नगरेका व्यक्तिहरुलाई सात दिनभित्र सफाई सहितको स्पष्टीकरण दिन निर्वाचन कार्यालय गोरखाले निर्देशन गरेको हो ।
निर्वाचन आयोगले विहिबार एक सूचना जारी गर्दै खर्च विवरण पेश नगर्ने उम्मेदवारले सूचना जारी भएको एक हप्ताभित्र चित्त बुझ्दो कारणसहित स्पष्टीकरण दिन निर्देशन गरेको निर्वाचन कार्यालय गोरखाका प्रमुख टेकबहादुर कोइरालाले बताए ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम राजनीतिक दल वा उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र निर्वाचनका क्रममा भएको खर्चको विल भरपाई सहित आयोगले तोकेको कार्यालयमा पेस गर्नुपर्ने छ । खर्च विवरण पेश नगर्ने उम्मेदवारले स्पष्टीकरण दिन नआएमा कानुन अनुसार कारवाही हुने उनले बताए ।




