
मकैको खोसेल्टाबाट झोला बनाउन सिक्दै लाप्राकबासी
गोरखाको धार्चे गाउँपालिका वडा नं ४ लाप्राकका झोला र टोपी बनाउने तालिम दिएको छ । स्थानीय स्तरमा उत्पादित बस्तुहरुलाई प्रयोग गरी बजारसम्म पु¥याउन र आयआर्जनमा वृद्धि गर्न मकैको खोसेल्टाबाट झोला बनाउने तालिम दिएको हो ।
लुथरन वल्ड फेडेरेसनको आर्थिक सहयोगमा सहयोगी हातहरुको समूह(सहास) नेपालले तालिम दिएको हो । पहिरो प्रभावित समुदायको लागि खाद्य सुरक्षा र जिविकोपार्जन सुधार परियोजना अन्तरगत तालिम संचालन गरिएको सहास नेपाल परियोजना अधिकृत नविन धितालले बताए । तीनदिनसम्म संचालन भएको तालिममा १५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

तालिममा प्रशिक्षक रसमाया गुरुङले मकैको खोसेल्टाबाट झोला र टोपी बुन्ने तरिका सिकाएकी थिइन् । स्थानीयहरुलाई उद्यमी बनाउने योजनाका साथ तालिम दिएको उनले बताए ।
कार्यक्रममा तालिममा सहभागीहरुलाई मकैको झोला बनाउनका लागि चाहिने आवश्यक सामाग्री पनि हस्तान्तरण गरिएको उनले बताए । सामाजिक परिचालक आस्था गुरुङले कार्यक्रमको सहजीकरण गरेका थिइन् । वडा सदस्य संगीता सुनारको प्रमुख आतिथ्यतामा मंगलबार कार्यक्रम सम्पन्न भएको हो ।




