
निरन्तरता नपाउँदा निराशा
भनिन्छ, वैँशमा चरीले पनि पातपातमा लेख्छ । तर सँधै लेख्दैन । वैँशमा प्रायः मान्छेले पनि साहित्य सिर्जना गर्छन् । तर उनले पनि बैँश घर्केपछि लेख्न छाड्छन् ।
जसले वैँश गुज्रिएपछि पनि लेखिरहन्छन्, अनि साहित्यकार कहलाउँछन् । सबै कुरामा यो लागु हुन्छ ।
झन राजनीति गर्नेहरुले आफ्ना ठाउँमा अनेकन नयाँ कामको सुरुवाती गर्छन् । अल्लि समय त त्यो चल्छ, तर पछिपछि सबैको बेवास्ता हुँदैजान्छ, बेमतलबमा के टिक्न सक्छ र ? अनि विस्तारै बिस्तारै भत्किँदै, खुइलिँदै, तुहिदै, बिग्रिदै जान्छ र एकदिन अन्त्य हुन्छ ।
तेरकिलो बजारका बासिन्दाले बजार झिलिमिली बनाउने भनेर नगरपालिकाबाट लाखौँ बजेट तथा कार्यक्रम पारे । नाली बनाइयो, फुटपाथ बन्यो, सडक बत्ती पनि बन्यो तर सडक बत्ती जोडिएको केही महिनामै विद्युत प्राधिकरणले विद्युतको लाइन काटिदियो । अहिले तेरकिलो बजार रातमा अन्धकार हुन्छ ।
सदरमुकाम बजारकै अबस्था त्यही हो । बसपार्कबाट माथि जाने ढुंगा बिछ्याइएको बाटोमा रेलिङ राखियो । रेलिङमा गमला राखियो । गमलामा फूल राखियो । यसले सो क्षेत्रको सौन्दर्य वृद्ध गर्ला भन्ने अपेक्षा थियो तर केही बर्षमै त्यहाँका गमला चोरिन, नष्ट गरिन सुरु भयो । त्यति मात्र होइन, त्यो क्षेत्रको सडक क्षेत्रमा राखिएका सडक बत्ती पनि अहिले छैनन् ।
अन्धकारका कारण रातका बेला वा बिहान उज्यालो हुनुअघि सो क्षेत्रमा जान हच्किनु पर्ने अबस्था छ ।
कामको थालनी त गरियो, तर त्यसलाई दीगो बनाउने बारेमा सोचिएन फलस्वरुप विभिन्न बाधा अड्चन आए । बाधा अड्न आउन नदिने के गर्नुपर्ला, आइहाले कसरी निदान गर्नुपर्ला भनेर योजना बनाइएन त्यसैले अहिले त्यस क्षेत्रको खुशी क्षणमै निराशामा परिणत भएको छ ।
यो खिसिट्यूरी गर्ने बिषय होइन, सामाजिक काम गर्नुपूर्व योजना बनाउनु पर्ने रहेछ भनेर सिक्नु पर्ने पाठ हो ।




