| सोमवार, कार्तिक २३, २०८३

यो तीज त यसै भयो, अर्को तीज सभ्य बनाऔँ

तीज नेपाली महिलाहरुको महान पर्व हो । हिन्दू नेपाली मात्र भन्दा पनि सबै धर्म मान्ने महिलाहरु यो बेला तीजगीत गाउने, नाच्ने, दर खाएर रमाउने गर्छन् ।

तीजका बेला विवाहिता महिलाहरुले पतिको दीर्घजीवनको कामना गर्दै भगवान शिवको पूजा गर्नेगर्छन् भने अविवाहिता महिलाले असल पति पाउँ भनी पूजा गर्ने गर्छन् । तीजका बेला निराहार वा निर्जला ब्रत बस्ने गरिन्छ । ब्रत बस्नुअघि आधारात गुज्रेपछि दरखाने प्रचलन छ ।
तीजको दिनमा पूजाआजाका क्रममा तीजगीत गाएर नाचगान गरिन्छ । तीजगीत धार्मिक तथा सामाजिक बिषयबस्तुमा आधारित हुने गर्छ । ब्रत बस्ने र पूजा गर्नेमा हिन्दू महिलाहरु मात्र सहभागी भएपनि दर तथा नाचगानमा अन्य समुदायका महिलाहरु पनि सहभागी हुनेगर्छन् ।

यो परम्परालाई तिलाञ्जली दिएर अहिले नेपाली महिलाहरु साउन लाग्ने वित्तिकैदेखि दर खाने र तीजगीत बजाएर नाच्ने गर्छन् । खासमा तीजको दिनको भोक गुजार्न खाने दरलाई बिकृत बनाई साउन लागेदेखि नै दरका नाममा जथाभावी आहारबिहार गरी तीजलाई बद्नाम गर्ने दुश्प्रयास गर्ने चलन बढेको छ । दरका नाममा दिनहूँ, फजुल खर्च गर्ने प्रवृत्ति बढेको छ ।

धार्मिक तथा सामाजिक विषयबस्तुमा सभ्यपूर्वक गाइने तीजगीतलाई जथाभावी अश्लीलसम्मका शव्दमा गाउने र अश्लीलतापूर्वक नाचेर पवित्र पर्वलाई बिकृत बनाउने गरिएको छ ।

यसमा हिन्दू धर्म र संस्कृतिप्रेमी महिलाहरु सचेत हुनुपर्छ । हिन्दू धर्मको मर्ममा चोट नपुग्ने गरी तीजलाई धार्मिक र सांस्कृति पर्वका रुपमा मनाउन अविचलित रुपमा मनाउन उनीहरु जागरुक हुनुपर्छ । पवित्र धार्मिक तथा सांस्कृतिक पर्वलाई बद्नाम गराउने दुश्प्रयासलाई रोक्नुपर्छ । दर र गीत नाचका नाममा प्रचलित सामाजिक तथा कानूनी दृष्टिलेसमेत दण्डनीय हुने काम तीजका बेला गर्ने गरिएको छ । त्यसैले यस्ता गतिविधिलाई रोक्नु आजको खाँचो हो ।
यसबर्ष जे भयो भयो, आगामि बर्ष सभ्य र भव्य रुपमा तीज मनाऔँ । आम नेपाली महिलाहरुमा तीजको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्