| सोमवार, कार्तिक २३, २०८३

तीज अति नै भड्किलो, विकृत र फजुल

तीजलाई नेपाली शव्दकोषले ‘भाद्र शुक्लपक्षको तृतीया, नारीहरुले ब्रत लिई शिव पार्वतीको उपासना गर्दै पतिको दीर्घायु कामना एवं राम्रो पति पाउने कामना गर्ने पर्व’ भनेर परिभाषित गरेको छ ।

‘तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान, मनोरञ्जनसमेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्’ भनेर विकिपिडियामा उल्लेख गरिएको छ ।

यो चाडमा चेलीलाई माइती घरमा लिएर आउने वा बोलाएर मीठो–मीठो परिकार खुवाउने तथा मनका भावना एवं सुखदुख साँटासाँट गरी एउटै ठाउँमा खानेबस्ने चलन छ । यसदिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँअनुसार लट्टे, खीर, सेलरोटी, केरा लगायतका मिठामिठा खाना, फलफूल खाने गरिन्छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिनको राति ढिलासम्म बसेर पेटभरि खाने प्रचलन बसेको हो ।

तर अहिले तीज, तीजगीत र दरको नाममा धेरै विकृति भित्रिएको छ । तीज आउनुभन्दा एक महिनाअघिदेखि दरको नाममा फजुल कार्यक्रम गरी, फजुल खर्च गर्ने चलन चलेको छ । महिलाहरुको महान पर्वलाई विकृत बनाउने महान गल्ती गर्न महिला स्वयं नै उद्दत छन् ।
तीजको, तीज गीतको र दरको मर्म र भावना विपरीत हुने गरी यसलाई विकृत बनाउने काम भइरहेको छ । यो विकृतिले पवित्र हिन्दू पर्व, संस्कार र संस्कृति विकृत बनेको छ ।

विकृत बनाउन महिला स्वयं नै बेपर्वाह रुपमा लागिरहेका छन् । यसलाई नियन्त्रण गर्न अति जरुरी छ । तीजलाई सुसंस्कृत बनाउन एक सचेत समूह अघि बढ्नु जरुरी छ । अहिले राज्यले नै फजुल खर्च नियन्त्रण गर्न कैयौँ मनोरञ्जनसित सम्बन्धित सामान आयात रोक्का गरेको छ । तीजको नाममा हुने फजुल खर्च रोक्न पनि प्रशासनले यसरी नै अग्रसरता देखाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्