
तीज गीत कि, तीजका बेला गाइने गीत ?
लेक फुल्यो लालीगुराँस, बेसी फुल्यो टुनी बरिलै, जन्मै किन हेपिएको, यो छोरीको जुनी बरी लै ।
गीत, अब ‘लरिलै बरिलै, फरिया भिजायो मेरो दर्के पानीले, मनको पहिरो बुझेन लाहुर जानीले’ बन्न पुगेको छ ।
अहिले जतिपनि ‘तीजगीत’ भनेर सुन्न थालिएका छन्, ती तीजगीत होइनन्, तीजका बेला गाइने गीत मात्र हुन् । पर्वगीतमा तीनवटा पक्ष हुन्छन ः शब्द, सङ्गीत र प्रस्तुति । तीजगीत भनेर सुन्ने गरिएका अहिलेका तीजमा न तीजको मर्म बोक्ने शब्द छन्, न प्रस्तुति छ र सङ्गीत नै ।
हाम्री आमाले दिएको दूध र भात, चरेस थालमा खाम्ला बरिलै, बाबा आमा जून र घाम, दाइ भाइले सम्झे त आम्ला बरिलै । यी शव्द सुन्न छाडिए । यस्ता भाव झल्किन छाडिए । संस्कृति प्राकृतिक नभएर मानव निर्मित भएकाले सभ्यता संगसंगै परिवर्तित, परिमार्जित हुन्छ । यसलाई धेरै अस्वभाविक ठान्नु हुँदैन तर यसो भनिरहँदा छाडापनलाई मान्यता दिइएको होइन ।
भातै र खाम्ला जेठो बुढो धानैको, तरकारी खाम्ला गाबा बरीलै, लिन र आए भेट्न आए मेरा दाजै, बिर्साइ दिए आमाबाबा बरीलै । यस्ता गीतको स्वाद अहिलेका गीतले मेटाउँदैनन् ।
तीजगीत तीजगीत नै हुनुपर्छ, यसमा कुनै शंकै छैन । हिजोको स्वादमा अलिअलि नयाँपन आउनु पनि आवश्यक छ । तीज महिलाहरुको पर्व हो । यतिबेला महिलाहरुले गाउने गरेको तीजगीतमा पछिल्ला समयमा पुरुषले पनि गाउन थालेका छन् । दुर्गेश थापाको छाडा, ‘बीच्च बीच्चमा’ बोलको गीतले धेरै लोकप्रियता कमाएको थियो । व्यवसायिकताका नाममा, भ्यूज बढाउने नाममा तीज गीत बिकृत बन्न थालेको हो । तीजगीत तीजका बेला गाइने गीत हुन थालेको सामाजिक सञ्जाल सुरु हुन थालेपछिमात्रै नभई २०५७, २०५८ तिरबाट भएको हो । त्यतिबेलादेखि तीजगीतले व्यावसायिक रुप लिन थालेको हो ।
पैसा कमाउने नाममा तीजगीतलाई मार्नु हुँदैन । तीजगीतलाई तीजगीतमै जोगाएर राख्नुपर्छ ।




