| सोमवार, कार्तिक २३, २०८३

उद्योग वाणिज्य संघ र च्याम्बर अफ कमर्शको मिलनको रहस्य

युद्ध हारे पनि बिस्मात, आफन्त मारेर युद्ध जिते पनि बिस्मात हुने भएपछि महाभारतको युद्ध लड्नुअघि अर्जुन हच्किन्छन् । त्यही बीच अर्जुन र कृष्ण बीचको संवादमा गीता आधारित छ ।

गीतामा सकाम कर्म र निष्काम कर्मको धेरै नै सघन चर्चा छ । औसत बुझाइमा सकाम कर्मको अर्थ स्वार्थसहितको काम, निश्काम कर्मको अर्थ स्वार्थरहित काम । अर्थात सकाम कर्मको अर्थ फलको आशा गरेर गरिएको काम र निष्काम कर्मको अर्थ फलको आशा नगरी गरिएको काम ।
गीतामा निष्काम कर्मलाई जोड दिइएको छ । यतिसम्म कि, भगवान(चाहे जे नामले पुकारे पनि)को प्रार्थना, ध्यान, तप, जप, होम(जे नामले पुकारे पनि) गर्दा पनि कुनै निश्चित फल प्राप्तिको आशा राखेर गरियो भने अर्थहीन हुन्छ भनिएको छ । त्यसैले काम गर्नुपर्छ, फलको आशा राख्नु हुन्न भनिएको छ ।

यो समय अलिक फरक छ । अहिले वैश्ययुग हो, किनभने अहिले हरेक कुरा पैसामा जोडिएको छ । अहिले जसले, जे सुकै काम गरे पनि त्यसबाट के प्रतिफल प्राप्त हुन्छसित जोडिएको हुन्छ । अहिले प्रतिफलबिनाको काम कसैले गर्दैनन् ।

केहीदिनअघि गोरखा उद्योग वाणिज्य संघ र गोरखा च्याम्बर अफ कमर्श बीच छलफल सुरु भएको छ । यी दुवै संस्थाहरु व्यापारी, व्यवसायीको हक, हितका लागि काम गर्न गठित संस्था हुन् । तर यी दुवै एकदेखि अर्को पर रहन रुचाउथे । तर यी दुई संस्था केहीदिन यता किन भेटघाट, छलफल, विचार, विमर्श हुन थालेका छन् ? के साँच्चै व्यापारी, व्यवसायीको हक, हितका लागि सम्बन्ध सुधार गरिरहेका हुन् ? कि दमित चाहना अरु कुनै छ ? के यति सानो जिल्ला, यति सानो बजारमा एउटै उद्देश्य राखेर स्थापित संस्था किन विभाजित हुने ? भन्ने ठानेर भित्रदेखि नै सम्बन्ध सुमधुर बनाउने उद्देश्यले मिलापको बाटो खोजेका हुन् कि, आफूहरु बाहेक अरु तेस्रोलाई निषेध गर्न हो ? धेरै रहस्यहरु लुकेका छन् । यसको खुलेर वा नखुलेर खोजी गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्