| सोमवार, कार्तिक २३, २०८३

सेनिटरी प्याड व्यवस्थापनमा समस्या

चुमनुब्री गाउँपालिकाको बाहेक गोरखाका सबै पालिकाले महिनावारी हुने उमेर पुगेका विद्यार्थी पढ्ने विद्यालयमा सेनिटरी प्याड पु¥याएको छ । चुमनुब्री गाउँपालिकाले चाहिँ गतबर्ष वुद्ध माविका विद्यार्थीहरुलाई उपलब्ध गराएको थियो । अहिले छैन । अन्य विद्यालयमा भने अहिलेसम्म सेनिटरी प्याड उपलब्ध गराएको छैन ।

दशैअघि बाटो सुधार भएपछि सबै विद्यालयमा पु¥याउने पालिकाको योजना छ ।
अन्य पालिकाका विद्यालयहरुमा सेनिटरी प्याड पुगेको छ, भलै ती प्याडको गुणस्तरका बारेमा धेरै आलोचना छन् । मापदण्डमा २४० एमएमदेखि २६० एमएमसम्मका प्याड उपलब्ध गराउने उल्लेख भएकामा पालिकाहरुले २४० एमएमका मात्र उपलब्ध गराएका छन् । गुणस्तरहीन भएकाले सहरी क्षेत्रका छात्राहरुले सित्तै पाएको भन्दैमा हात थाप्दैनन्, बरु पसलमा किन्छन् । चुहिनेसम्मको कमशल प्याड वितरण हुने गरेको छात्राहरुको गुनासो छ ।

त्यति मात्र समस्या होइन, धेरै विद्यालयमा व्यवस्थित सौचालय छैनन् । सौचालय भए पनि पानी छ्रैनन् । सौचालय पनि, पानी पनि भए पनि छात्राहरुमा प्याड व्यवस्थापन गर्ने बानी छैन । जसले गर्दा प्याड जथाभावी फ्याँक्ने, प्रदुषित हुने समस्या प्राय विद्यालयहरुमा छ ।
सही ढंगले व्यवस्थापन गर्ने ज्ञानको अभावमा, ज्ञान भए पनि जाँगरको अभावमा, जाँगर भए पनि बानीको अभावमा उनीहरु प्याड यत्रतत्र(जथाभावी) फ्याँक्छन् ।

त्यसैले यसबारेमा पनि विद्यालयले नै वा पालिकाको स्वास्थ्य शाखाले प्याडको व्यस्थित व्यवस्थापन सम्बन्धी तालिम, प्रशिक्षण दिनु आवश्यक देखिन्छ । सक्छ, पालिका स्वयंले नसके सहयोगी संस्थाहरुको परिचालन गरी गुणस्तरी प्याड खरिद, वितरण र व्यवस्थापनको प्रवन्ध गर्नुपर्छ ।

आवश्यक भन्दा धेरै तर गुणस्तरहीन प्याड वितरण हुँदा एक त यसको महत्व घट्छ, अर्को त छात्राहरुमा इन्फेक्शन लगायतका अस्वस्थताको डर छ । बरु पालिकाले विद्यालयलाई नै खरिद गर्न दिए विद्यालय प्रशासनले उचित संख्या र उचित गुणस्तरका प्याड वितरण गर्ने थिए ।

प्रतिक्रिया दिनुहोस्