
रैथाने जातलाई प्रवद्र्धन गरौँ
गोरखाको गुम्दामा बुधबारदेखि आलुमेला सुरु भएको छ । बिगत लामो समयदेखि भदौ १ गते त्यहाँ आलु महोत्सव गर्ने गर्छन् । बिगतको मेलालाई निरन्तरता दिँदै गुम्दामा आलु मेला गरिएको हो ।
गुम्दा गोरखाको सबैभन्दा धेरै स्थानीय जातको आलु पाइने ठाउँ हो । लाप्राक, यमगाउँ, लप्सीबोट, सिङ्लामा पनि आलु प्रसस्त मात्रामा पाइन्छ, तथापि गुम्दा स्थानीय जातको आलुको गोरखाका लागि राजधानी नै हो ।
उत्कृष्ट स्वादका कारण गुम्दाका आलुले गोरखा सदरमुकाम, काठमाडौँ, पोखरासम्म छरिएर रहेका स्थानीयहरुमा यसको लोकप्रियता छ । यहाँ उत्पादन भएको आलु बजारमा किन्न भने उत्ति धेरै पाइँदैन । साथै तल्लो भेगका उपभोक्ताले त्यहाँको आलु खान चाहेर पनि पर्याप्त पाउँदैनन् । किनभने त्यहाँको आलु छिट्टै बिक्री भइसक्छ ।
स्वाद र सन्तुष्टिका कारण लोकप्रिय भएका कारण यहाँको आलुको भाउ केही बढि हुने नै भयो । उच्च गुणस्तर र टाढादेखि बोकेर ल्याउनु पर्ने भएकाले पनि गुम्दाको आलुको मूल्य बढि नै छ । परेको मूल्य तिर्न उपभोक्ता तयार भए पनि त्यहाँको आलु पर्याप्त पाउन सकिँदैन । स्थानीय जातको लोकप्रियताको उपज हो यो ।
रैथाने जातको जुन खाद्यान्न पनि यस्तै लोकप्रिय हुन्छ । चाहे लोकल कुखुरा, लोकल खसी, लोकल चामल, लोकल तरकारी इत्यादि ।
तर दुखको कुरा के छ भने गुम्दा, लाप्राकतिर पनि धेरै उत्पादन गर्ने नाउँमा बजारका आलुको बिउ पुग्न थालेको छ । चिसो पानीमा उत्पादन हुने भएकाले बजारको आलुको बीउ पनि बजारको आलुभन्दा केही हदसम्म स्वादिलो हुन्छ तर जति स्वाद रैथाने जातको आलुले बोकेको छ, त्यति मिठो हुदैन ।
त्यसैले जुनसुकै खाद्य पदार्थको रैथाने जातको संरक्षण गर्नुपर्छ । रैथाने जातको खेती प्रवर्धनात्मक अभियान सञ्चालन गर्नुपर्छ ।




