| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा जेसिजको क्षेत्र ख सम्मेलन, ४३ शाखाबाट करिब छ सय जना सहभागी हुने

नेपाल जेसिजको क्षेत्र ख को सम्मेलन गोरखामा हुने भएको छ । आतिथ्य संस्था गोरखा जेसिजले आइतबार पत्रकार सम्मेलन गर्दै भदौ ३ र ४ गते गोरखा सदरमुकाममा हुने क्षेत्र ख सम्मेलनको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले उद्घाटन गर्ने जानकारी दिएको हो ।
सम्मेलन गोरखा संग्रहालय परिसरमा हुने सम्मेलनका निर्देशक पूर्व अध्यक्ष भगवानबाबु मास्केले बताए ।

कार्यक्रममा नेपाल जेसिजका पूर्व र वर्तमान पदाधिकारीहरु, नेपाल जेसिज ‘क्षेत्र ख’ का ३९ वटा शाखा र जुनियर जेसिजका ४ वटा शाखा गरी ४३ वटा शाखाबाट सहभागी रहने कार्यक्रम तय भएको छ । साथै सम्मेलनमा क्षेत्र क, ग, घ का प्रतिनिधिहरु पनि सहभागी हुनेछन् । सम्मेलनमा सबै गरेर करिब छ सय जना सहभागी हुने अनुमान गरिएको उनले बताए ।

कार्यक्रममा जेसिज क्षेत्र ख का ३९ वटा शाखाका र जुनियर जेसिज शाखाका अध्यक्ष तथा पदाधिकारीहरुलाई निपूर्ण बनाउन नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम संचालन हुने उनले जानकारी दिए । त्यस्तै, गोरखा जिल्लाको ऐतिहासिक, धार्मिक महत्वका सम्पदाहरुको प्रचार प्रसार गर्न, जिल्लाको पर्यटन प्रवद्र्धनका साथै यहाँको साँस्कृतिक, भेषभुषा आदिको प्रवद्र्धनमा सम्मेलनले योगदान गर्ने उनले बताए ।
कार्यक्रममा सहभागी हुन आउने अतिथिहरुलाई सदरमुकामका होटलसँगै केहीलाई होमस्टेमा राख्ने व्यवस्था गरिएको छ ।
सम्मेलनमा गत वैशाख ३० गतेको स्थानीय तहमा जनप्रतिनिधिका रुपमा निर्वाचित जेसिजका पदाधिकारीहरुलाई, आठहजार मिटर भन्दा अग्ला सबै हिमाल आरोही गोरखाकी पूर्णिमा श्रेष्ठ र एसईई परिक्षामा चार जिपिए ल्याउन सफल विद्यार्र्थी लगायतका व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम रहेको गोरखा जेसिजका अध्यक्ष शैलेन्द्र भट्टले बताए ।

गोरखा जेसिजको आतिथ्यतामा चौथौ पटक उक्त कार्यक्रम गोरखामा हुन लागेको हो । यसअघि सन् १९९३, १९९८ र २०११ मा पनि क्षेत्रस्तरको सम्मेलन गोरखामा भएको थियो । सम्मेलनमा युवाहरुको नेतृत्व र ब्यक्तित्व बिकास, समसामयिक विषयमा छलफल, भावी योजना तयार हुने उनले बताए ।

कार्यक्रमा बाग्लुङ, म्याग्दी, स्याङजा, रौतहट, सर्लाही, मगवानपुरलगायत गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट जेजिसका पदाधिकारी आउने सम्मेलनका उपनिर्देशक शरण श्रेष्ठले बताए । कार्यक्रम संचालनका लागि करिब ४५ लाख लाग्ने अनुमान गरिएको छ
सम्मेलनको व्यवस्थापनका लागि १५ वटा उपसमिति निर्माण गरिएको छ । सम्मेलनमा उपस्थिति हुने सहभागिताहरुको व्यवस्थापनका लागि खाना, आवास लगायतका व्यवस्थापन सबे उनीहरुले गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्