
यसपटक पनि होहल्लामै चुनाब ?
कुनै पनि दलको ह्वीप नलाग्ने अधिकांश सर्वसाधारणहरु राजनीतिक दलका नेताहरुलाई ललकार्दै पाँचबर्षसम्म बिताउँछन् । जब चुनावको दिन आउँछ, अनि उही पुरानै पार्टीका चुनावचिन्हमा स्वस्तिक छाप लगाउँछन् ।
हाम्रो होइन, राम्रो उम्मेद्वार छानौँ भनेर जति सामाजिक सञ्जाल रंगाए पनि प्रायले भोट हाल्ने दिन उही सातपटकसम्म चुनाव लडिसकेकाहरुलाई नै भोट हाल्छन् । परीक्षण भइसकेका, नयाँ र उल्लेखनीय काम गर्न नसक्ने भनेर प्रमाणित भइसकेकाहरुलाई नै फेरि भोट हाल्छन् । परिवर्तन चाहनेले आफूलाई पनि परिवर्तन गर्न सक्नुपर्छ । अरु मात्र परिवर्तन भएको देख्न चाहने, आफू परिवर्तन हुन नसक्ने विडम्बना सबैमा छ ।
अब फेरि प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव आउँदैछ । मंसीर ४ गते घोषित चुनाब फेरि पुरानै उम्मेद्वारलाई टिकट बाँड्दैछन् । नयाँ पुस्तालाई स्थान दिनुपर्ने भनेर पार्टीभित्र जति बुलन्द आवाज उठेपनि फेरि ७० बर्ष कटेका र केही पनि नयाँ काम गर्न नसक्ने पुष्टि भइसकेकाहरु नै चुनाव लड्दैछन् ।
गत स्थानीय तहको चुनावमा लठ्ठी चिन्हले नयाँ लहर ल्यायो । धेरै ठाउँमा स्वतन्त्र उम्मेद्वारले विजय हात पारे । यसबाट मतदाताहरुको आस्था पुराना ढर्राका दलमा ह्रास हुँदै गएको पुष्टि भएको छ । यदि यही लहर आसन्न चुनावमा पनि चल्यो भने पुराना राजनीतिक दलका नेताहरु अप्रत्याशित हार खेप्न बाध्य हुनेछन् ।
तसर्थ राजनीतिक दलले सघन गृहकार्य गरी योग्य नेतालाई उम्मेदवार बनाउनुपर्छ । नयाँ विश्व परिवेश बुझेका, राजनीतिका लागि विकास होइन, विकासका लागि राजनीति गर्ने, जनमनमा भिजेका, गाउँघरमा बारम्बार आइरहने नेतालाई उम्मेद्वार बनाउनु पर्छ । नयाँ पुस्ताका मतदाता राजनीतिक ह्वीपभन्दा पर छन् । उनीहरु पार्टी भन्दा पनि व्यक्ति हेरेर भोट हाल्छन् भन्ने शाश्वत सत्य छिपेको छैन ।
अब पहिले जस्तो होहल्लामा चुनाव गर्ने, पैसा, रक्सी, मासुमा लोभ्याएर चुनाव जित्ने सपना देख्नु हुदैन । नयाँनयाँ अवधारणा ल्याउनु पर्छ । उत्कृष्ठ घोषणापत्र ल्याउनु पर्छ ।




