
बाढी आउने खोलामा ह्युमपाइप राख्नु मूर्खता
पालुङ्टार नगरपालिकाले फेरि एकपटक सेरा र बिर्दी क्षेत्रका बासिन्दाको आँखामा छारो हाल्ने काम गरेको छ । खोलाको मूल प्रवाहमा ह्यूमपाइप राखेर नगरपालिको मान्छे आवतजावतका लागि बाटो बनाएको छ । तर खोलाको बीचमा बिछ्याइएको ह्यूमपाइप नै त्यहाँको चुतीखोला र खारखोला आसपासका किसानका लागि अभिशाप भन्ने नगरपालिको बुझ्न सकेन ।
ह्यूमपाइप भन्दा धेरै ठूलो आकारको कल्भर्टभित्र त खोला नअटेर कल्भर्टको जरोबुटोसमेत नरहने गरी बगाएका उदाहरण छन् । कहीँको कल्भर्टभित्र खोला नअटेर खोला एकातिर, खोला अर्कातिर भएका उदाहरण पनि छन् । कतै कल्भर्टभित्र खोला नअटेर कल्भर्टबाहिरबाट बगेको छ ।
खोलाको यो अबस्था अध्ययन नगरी नगरपालिकाले खोलाको बीचमा ह्यूमपाइप बिछ्याएको छ । कि प्राविधिकले विवेक प्रयोग गर्नुपथ्र्यो, कि स्थानीयबासीले यथार्थ अबस्था बताउनु पथ्र्यो । नगरपालिकाले गर्दिने भन्दैमा जे गर्दिए पनि चुपचाप स्वीकार गर्नैपर्छ भन्ने स्थानीयबासीमा के बाध्यता छ त्यस्तो ? कल्भर्टभित्र नअटेको खोला ह्यूमपाइपभित्र अट्न सक्छ ? के चुतीखोला र खारखोला कुलो जत्रै छन् ? के ती खोलाले ठूला ढुंगामुढा बगाएर ल्याउँदैनन् ? के ती ढुंगा र मुढा ह्यूमपाइपभित्र सुत्त–सुत्त बग्न सक्छ ?
स्थानीयबासीले यस बिषयमा किन तर्क, वितर्क गर्न सकेनन् ?
ती खोलाहरुमा बाढी आउँदा विद्यार्थीहरु हेलिएर वारपार गर्न बाध्य भएको बारे समाचार प्रकाशन, प्रशारण भएपछि केही न केही गर्न नगरपालिकालाई बाध्यता थियो । तर नगरपालिकाले केही पनि अध्ययनै नगरी खोलामा कल्भर्ट हालेको छ । जुन कल्भर्टले गर्दा खोला फेरि तालिने, ताल खोलिएर बग्दा अनियन्त्रित भई जथाभावी बग्ने गर्छ । अनुमान गरेजस्तो नहोओस् तर ह्यूमपाइपले गर्दा त्यसभेगका किसानले पुन ठूलो क्षति भोग्नु पर्ने अबस्था आउन सक्छ ।




