
प्राथमिकता निर्धारण नगरी विकासको काम !
एकहप्ता अघि जरेबरमा सडक नभएको ठाउँमा मोटरेबल पुल बनेको समाचार धेरै चर्चित बन्यो । ‘पुल अनावश्यक’ भन्ने समाचारको सन्देश थिएन । ‘सडक नै नभएको ठाउँमा पुल बन्यो’ भन्ने निश्कर्ष थियो । अर्थात पहिले सडक निर्माण गरेर त्यसपछि नदी तर्न पुल बनाउनु पर्नेमा पहिले पुल बनाएर अनि मात्र सडक बनाउने तयारी गरेको समाचारको सामग्री थियो । तर केही ‘कार्यकर्ता’ले समाचारलाई अतिरञ्जित गरीे आलोचना गरेका थिए ।
पूर्वाधार विकास निर्माणको काम गर्नुपूर्व आवश्यकता पहिचान(निड एसिस्मेण्ट) गर्नु जरुरी हुन्छ । त्यस्तै कुन पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने, कुन कामलाई दोस्रो, तेस्रो प्राथमिकतामा राख्ने भन्ने पनि निर्धारण गर्नु अपरिहार्य छ ।
जुनसुकै पूर्वाधार निर्माण भइसकेपछि ‘अनावश्यक’ घोषणा गर्दा विकास विरोधी भन्ने आरोप लाग्छ ।
पालुङ्टार नगरपालिका वडा नं. ७ विरुवाटारमा अहिले १५ करोड रुपैयाँ लागतमा ठूला महल बन्दैछन् । अत्याधुनिक सुविधासम्पन्न भवन करिब करिब निर्माण सम्पन्न हुने अबस्थामा छ । भूकम्प वा यस्तै विपत्तिमा परेका भूमिहीनलाई पुनस्थापित गराउनका लागि यहाँ भवन निर्माण गरिएको हो ।
बनिसकेको भवनलाई ‘अनावश्यक’ घोषणा गर्दा स्थानीयबासीले ‘विकास विरोधी’को आरोप लगाई ललकार्छन् ।
तर १५ करोड रुपैयाँ खर्च गरीगरी यहाँ यत्तिका भवन निर्माणको काम अहिले पहिलो प्राथमिकतामा पर्छ कि पर्दैन ? गहन ढंगले निड एसिस्मेण्ट गर्नुपर्छ ।
तर्कका लागि तर्क त हुन सक्ला कि, विपत बाजा बजाएर आउने होइन, जतिबेला पनि पर्न सक्छ । अहिले संरचना बनाइराख्यौँ भने त्यतिबेला काम लाग्ला भन्ने ।
हेरौँ, सौरपानी र स्वाँराको सीमानामा पर्ने हुँडीखोलामा निर्माण गरिएको यस्तै संरचना के कामका लागि सदुपयोग भएको छ ? यही प्रयोजनका लागि केरौँजामा निर्माण भएको संरचना के कामका लागि प्रयोग भएको छ ?
त्यसैले प्राथमिकता निर्धारण गरेर मात्र विकास निर्माणको काम गर्नुपर्छ ।




