| सोमवार, कार्तिक २३, २०८३

तीनपटक आव्हान गर्दा पनि ठेक्का नलाग्ने ?

गोरखा बजार र बारपाक गाउँको ढल ब्यवस्थापनका लागि तीनपटकसम्म ठेक्का आव्हान भयो । गोरखा बजारको ढल निर्माणका लागिचाहिँ तेस्रोपटक एक निर्माण कम्पनीको ठेक्का फर्म दर्ता भयो । तेस्रो पटक, त्यसमा पनि जम्मा एउटा मात्र फर्म दर्ता हुनु आश्चर्यजनक छ । बारपाक गाउँको ढल निर्माणका लागि त तेस्रो पटक पनि कुनैपनि ठेक्का फर्म दर्ता भएन । यो झन महाआश्चार्यजनक भयो ।
तेस्रो पटक आव्हान भएको ठेक्का साउन १७ गतेसम्म अन्तिम म्याद थियो ।

गोरखा यस्तो जिल्ला हो, जहाँ ठेक्का आफूलाई पार्नका लागि घटाघटमा प्रतिस्पर्धा हुन्थ्यो । ५०, ५५, ६० प्रतशितसम्म घटेर ठेक्का आफूलाई पार्ने होडबाजी चल्थ्यो । यतिगर्दा पनि आफूलाई पर्ने निश्चित नहुँदा ठेक्का फर्म दर्ता गर्न जाने व्यवसायीहरुलाई ‘कमिशन’ दिएर फिर्ता गर्ने, बल प्रयोग गरेर फर्म च्यादिने, घोक्रेठ्याक लगाएर खेद्नसम्मको घटना भएको जिल्ला हो गोरखा ।

तर यी दुई ठेक्कामा निर्माण व्यवसायीको चासो नहुनु आश्चर्यजनक छ । ठेकेदारमैत्री बनाउन दुईपटकसम्म कसैले पनि ठेक्का फर्म दर्ता नगरेर तेस्रोपटकसम्म टेण्डर सूचना जारी गरिएको थियो । जति धेरै पटक सूचना प्रकाशित हुन्छ, त्यति नै ठेक्का ठेकेदारमैत्री हुँदैजान्छ ।
गोरखा बजारमा ढल ब्यवस्थापनका लागि ५७ करोड र बारपाकको ढल ब्यबस्थापनका लागि ३७ करोड रुपैयाँको बोलपत्र आह्वान गरिएको थियो ।

गोरखा बजारको ढल व्यवस्थापनका लागि ‘हिमडुङ एण्ड ठोकर प्रालि जेभी’ले फर्म दर्ता गरेको छ । तेस्रोपटकसम्म आव्हान गरिएको ठेक्कामा एकजनाले मात्र फर्म दर्ता गरे पनि वैध मानिन्छ ।

यसअघि दुर्गमका लागि खाद्यान्न ढुवानी गर्ने टेण्डरमा पनि तीनपटक सूचना प्रकाशित गरेपछि मात्र ठेक्का फर्म दर्ता भएको थियो । जति धेरै पटक सुचना जारी हुन्छ, उति दररेटमा लचिलो हुने नीति नियम छ । सायद त्यसैका लागि ठेक्का फर्म दर्ता नभएको हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्