
छेपेटारको बहुउद्देश्यीय पोखरी निर्माण योजना र वातावरणीय चुनौति
गोरखाको छेपेटारमा बहुउद्देश्यीय पोखरी निर्माण गर्न स्थानीय तह र स्थानीयबासीले पहल गरेका छन् । ठुटेबजार क्षेत्रमा १८ मिटर बाँध बाँधेर दरौँदी नदी थुन्ने र बनेको करिब एक किलोमिटर ठूलो पोखरीमा बहुउद्देश्यीय विकासका पूर्वाधार बनाई चौतर्फी विकास गर्ने लक्ष्य राखिएको छ ।
सो योजनाका लागि नगरपालिकाले चालु आर्थिक बर्ष एक करोड रुपैयाँ बिनियोजन गरेको छ । सो आयोजनाका लागि डिपिआर तयार भइसकेको छ । डिपिआरमा सो आयोजना सम्पन्न हुनका लागि ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
सो आयोजना सरकार, पब्लिक, प्राइभेट मिलेर निर्माण गर्ने लक्ष्य राखिएको छ । प्रदेश सरकारले पनि यो आयोजनालाई सहयोग गर्ने अपेक्षा छ ।
आयोजना सफल भयो भने एक किलोमिटर ठूलो ताल बन्ने छ । तालको सबैभन्दा ठूलो उपयोगिता त्यस भन्दा तलका ठूलाठूला फाँट सिचाइ गर्ने भनिएको छ । यदि यो आयोजना सफल लक्ष्य राखेजस्तो गरी सफल भयो भने दुवै साइडका फाँटमा सिचाइ हुनेछ । पानी ताल्दा यस जलाधार क्षेत्र हराभरा हुनेछ ।
त्यति मात्र नभै यसको अर्को ठूलो लाभ यहाँ बर्षेनी संकलन हुने ढुंगा, गिटी, बालुवा उत्खनन गरेर बिक्री गरी आन्तरिक आय बढाउन पाइन्छ ।
त्यस्तै अरु फाइदा पनि छन् । जस्तो कि, तालमा मोटरबोट चलाउने, तालमाथि जीपलाइन सञ्चालन गर्ने, साइक्लिङ गर्ने, प्याराग्लाइडिङ गर्ने जस्ता कार्यक्रम सञ्चालन गर्न सकिनेछ । पोखरीको वरिपरि उद्यान निर्माण हुनेछ । टि हाउस, कफी सप, रेस्टुराँहरु सञ्चालन हुनेछन् । जसले गर्दा यहाँ सयौँले रोजगारी पाउनेछन् । आयआर्जन गर्ने ठाउँ बन्नेछ भन्ने अपेक्षा गरिएको छ ।
तर हरेक कुराको सकारात्मक र नकारात्मक पाटाहरु हुन्छन् । यहाँ पानी ताल्दा डुबानका समस्या आउन सक्लान्, पर्खाल फुटे, भत्किएमा त्यसभन्दा तलका संरचना, मानवबस्तीसमेतमा ठूलो क्षति पुग्नेछ । अर्थात ढुंगा, गिटी, बालुवा संकलनको अभिष्ट मात्र पूरा गर्ने, अन्यमा वास्ता नगर्दा समस्या सिर्जना हुनसक्छ ।
यद्यपि नकारात्मक सोच कम राखौँ, आयोजना सुरु गर्नतर्फ जागरुक बनौँ ।




