| मङ्लबार, कार्तिक २४, २०८३

फाइल तस्बिर

अवरुद्ध मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

 लगातारको वर्षाका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी सञ्चालन सुरु भएको छ ।

वर्षाका कारण सडकमाथिबाट लेदो माटोसहितको पहिरो खस्दा सोमबार बिहान ४ बजेदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्डमा केही समय अघिदेखि सवारी सञ्चालन शुरु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आइतबारदेखि परेको अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडक खण्डको घुमाउने नजिकैको क्षेत्रका पहिरो खस्दा सोमबार बिहान ४ बजेदेखि सडक अवरुद्ध बनेको थियो ।

अवरुद्ध सडक जेसिविको सहायताले पहिरो पन्छाएपछि बिहान ६ः४५ बजेदेखि सडक दुईतर्फ सञ्चालन गर्न मिल्ने गरी खुलाइएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले सडक सुचारु भए पछि वर्षा नरोकिएका कारण सावधानी अपनाएर यात्रा गर्न आग्रह गरेको छ । नारायणगढ–मुग्लिन सडक खण्डको १७ स्थानमा पहिरोको जोखिम रहेको बताइन्छ ।

राजधानी काठमाडौंलगायत मध्य नेपालको लाइफलाईनको रुपमा रहेको मुग्लिन–नारायणगढ सडक खण्डमा दैनिक १२ हजारभन्दा बढी यातायातको साधन आवतजावत गर्ने गर्छ ।

नारायणगढ–मुग्लिन सडक खण्डको पहिरोको जोखिम क्षेत्र ।

प्रतिक्रिया दिनुहोस्