| मङ्लबार, कार्तिक २४, २०८३

चुमनुब्रीमा एकै व्यक्तिलाई ४ थरी जिम्मेवारी

चुमनुव्री गाउँपालिका–१ र ३ को सचिवको दोहोरो जिम्मेवारीमा छन् वासुदेव वली । पालिकाको उद्यम विकास फोकल पर्सनको जिम्मेवारी पनि उनैमाथि छ । उनलाई सिर्दिवासमा रहेको वडा–३ कार्यालयबाट सामागाउँस्थित वडा–१ को कार्यालय पुग्न कम्तिमा ३ दिन पैदल हिँड्नुपर्छ ।

१५र१५ दिनमा पालो गरेर दुवै वडामा पुग्ने गरेका छन् । वडा–३ को कार्यालय पुग्दा नजिकै रहेको पालिकाको प्रशासकीय भवन पुगेर उद्यम विकास फोकल पर्सनको काम पनि जसोतसो भरथेग गरिरहेका छन् ।

‘दुई वटा वडा कार्यलयको दूरी टाढा छ, बाटो त्यस्तै अप्ठारो, हिँड्दाहिँड्दै ढुंगा खसेर कतिखेर दुर्घटनामा परिन्छ भन्न सकिन्न,’ वली भन्छन्, ‘तर जिम्मेवारी लिएपछि पुरा गर्नैपर्‍यो, तीनवटै कार्यालका लागि समय व्यवस्थापन गरेर चलेको छु ।’ ३३ जनाको दरबन्दी रहेको चुमनुव्रीमा अहिले ११ जना मात्रै कार्यरत छन् । सीमित कर्मचारीलाई वडा सचिवसहित पालिकाको प्रशासनिक फाँटको पनि जिम्मेवारी दिएर दुर्गममा सेवा प्रवाहमा भरथेग भइरहेको छ ।

‘दरबन्दी छ, मान्छे छैनन्,’ पालिकाका सूचना अधिकारी बलराम पाठक भन्छन्, ‘दुर्गम र विकट भूगोल भएकाले कर्मचारी आउनै मान्दैनन् ।’ चुमनुव्रीको प्रशासन शाखाको काजमा रहेका पाठक त वडा–४ को सचिवसहित ४ वटा जिम्मेवारीमा छन् । प्रशासन, शिक्षा शाखा र सूचना अधिकृतको जिम्मेवारी पनि उनैलाई दिइएको छ । पालिका कार्यालयबाट वडा–४ को कार्यालयसम्मै पुग्न उनलाई कम्तीमा २ दिन पैदलयात्रा गर्नुपर्छ । ‘पर्यटकीय क्षेत्र पनि भएकाले महँगी बढी छ, जाँदा–आउँदै धेरै पैसा खर्च हुन्छ,’ पाठक भन्छन्, ‘बाटो त्यस्तै अप्ठारो, गत वर्ष पाङसिङको विद्यालयमा नियुक्ति लिएर आएकी शिक्षिका ढुंगाले लागेर घाइते भएपछि फर्किएर आउनुभएन ।’

पालिकाको अभिलेखअनुसार ७ वटा वडा रहेको चुमनुव्रीमा ७ जना सचिवको दरबन्दी छ । तर, कार्यरत १ जना मात्रै छन् । दरबन्दीअनुसार सचिव नहुँदा पालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीलाई नै सचिवको समेत काम गर्न खटाइएको छ । हालसम्म सीमित कर्मचारी र भौगोलिक विकटतासँग जुध्दै भएकै जनशक्तिले काम चलाइरहेका छन् ।

योजना शाखा प्रमुख वेदप्रकाश ढकाललाई वडा–२ र ६ को सचिवको कामसमेत हेर्नुपर्ने गरी खटाइएको छ । वडा–२ को कार्यालय नुव्रीमा पर्छ भने ६ को चुम क्षेत्रमा छ । यी २ वडा कार्यालय पुग्ने बाटो नै अलग–अलग छन् । ढकाललाई वडा–२ को कार्यालय पुग्नै पालिका केन्द्रबाट कम्तीमा २ दिन लाग्छ । चुम्चेतस्थित वडा–६ को कार्यालय १ दिनको यात्रामा पुग्छन् । दुई वडाको सचिवको जिम्मेवारीमा रहेका गणेशभक्त त्रिपाठीलाई पनि ४ थरी जिम्मेवारी दिइएको छ । वडा–५ र ७ को सचिवसहित सामाजिक विकास शाखा र जिन्सी शाखा त्रिपाठीले सम्हाल्दै आएका छन् ।

पालिकामा कर्मचारीको संकट अहिलेको निम्तिएको समस्या भने होइन । विकट भूगोलमा कर्मचारी नटिक्ने र नरोज्ने प्रवृद्धिले संघीयता लागू भएदेखि नै यहाँ दरबन्दीअनुसारका कर्मचारी छैनन् । पालिका स्थापना हुँदा ५ मात्र कर्मचारी थिए । त्यसपछि आएका कर्मचारी पनि पूरा अवधि टिकेनन् । अनमी, प्राविधिक सहायक, अहेव, लोकसेवा आयोगबाट चुमनुव्रीका लागि सिफरिस भएका केही कर्मचारीले अन्यत्रै सरुवा मिलाए । सिफारिस भएका कतिपय कर्मचारी त पालिका नै नपुगी अन्यत्रै सरुवा भएर गएका पनि छन् । ५ वर्षमा पालिकामा प्रमुख प्रशासकीय अधिकृत नै ५ पटक फेरिए ।

‘दुर्गम ठाउँमा कर्मचारी आउनै मान्दैनन्, आए पनि छिटो सरुवाको अनुमति लिन्छन्,’ पालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठ भन्छन्, ‘फिल्डमा जान आवातजावतकै सकस छ, फेरि दुर्गम भत्ता कम छ ।’ अहिले भएका सीमित कर्मचारीलाई नै समुचित परिचालन गरी सेवा प्रवाह गरिरहेको उनको भनाइ छ । ‘आइपर्दा जिम्मेवारीबाहेकका पनि काम गर्नुपर्ने बाध्यता छ, गर्ने गरेका पनि छौं,’ उनले भने । उनका अनुसार पालिकामा शिक्षा अधिकृत, छैटौं तहका इन्जिनियर, शिक्षातर्फ प्राविधिक सहायक, प्रशासन सहायकमा दरबन्दीअनुसारका कर्मचारी छैनन् । नायब सुब्बाको ६ जनाको दरबन्दी रहेकामा २ जना मात्र कार्यरत छन् ।

साभारःकान्तिपुरदैनिक

प्रतिक्रिया दिनुहोस्