
धेरै सवारी कारबाहीको अर्थ धेरै ट्राफिक नियम उल्लंघन ?
सबै चाहन्छन्, आफूले काम गरेको क्षेत्र(कार्यालय माताहत)मा नराम्रा काम न्यून होउन् वा सुन्य होउन् । अर्थात यसको आशय कारबाही, जरिबाना, मुद्दा दर्ता गर्नुपर्ने खालका घटना समाजमा बग्रेल्ती भएर पनि कारबाहीचाहिँ कम होओस् भन्ने होइन । कारबाही हुने खालका घटना नै कम होओस् भन्ने चाहेका हुन्छन् ।
तर अबस्था यो छ कि, गोरखामा सवारी नियम उल्लंघन गरेबापत संकलित जरिबानाको आकार बढिरहेको छ । सवारी नियम उल्लंघन गर्ने कार्य बढे पनि जरिबाना संकलन घटोस् भन्नेचाहिँ ट्राफिक प्रहरीले चाहेको हुदैन ।
गत आर्थिकबर्ष २०७८÷०७९ मा गोरखामा ११ हजार दुई सवारी साधन कारवाहीमा परेका छन् । उनीहरुबाट रु ७२ लाख ९८ हजार राजस्व संकलन गरिएको छ । चार हजार ४ सय ६२ वटा ट्याक्टर कारबाहीमा पर्दा २९ लाख १६ हजार पाँच रुपैयाँ राजस्व संकलन भएको छ । २,१२५ वटा कार, जीप कारवाहीमा पर्दा १३ लाख २० हजार राजस्व संकलन गरेको छ । एकहजार आठसय ३० टूकलाई कारवाही गर्दा १२ लाख ६६ हजार राजस्व संकलन भएको छ । एक हजार तीन सय ९७ मोटरसाइकल कारवाहीमा पर्दा नौलाख १८ हजार पाँच सय र एक हजार तीन सय ८६ बस चालक कारवाहीमा पर्दा आठ लाख ७७ हजार राजस्व संकलन भएको छ ।
पछिल्लो समयमा निजी सवारी साधनको संख्या बृद्धि हुनु, ग्रामीण क्षेत्रमा सडक सन्जालको व्यापक विस्तार हुनु र आम सर्वसाधारणमा ट्राफिक नियम सम्बन्धी चेतना भएर पनि व्यवहारमा लागु नगर्दा धेरै कारवाही पर्ने गरेका हुन् । नम्बरप्लेट नभएका, मादक पदार्थ सेवन गरेर सवारी चलाएका, नो पार्किङमा सवारी रोकेका, हेल्मेट नलगाएका तथा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधन कारबाहीमा परेका छन् । यस्ता घटना कम भन्दा कम होउन् भनेर सचेतना कार्यक्रमलाई अल्लि तिब्रता दिनुपर्छ कि ?




