
घुम्ने मेचमाथि अन्धो मान्छे भयो भने के हुन्छ ?
हामी नेपाली सबैको बारेमा जान्दछौँ, सिर्फ आफ्नो बाहेक – विजयकुमार ।
हाम्रो समाजले हामीलाई आफ्नो बारेमा जान्नुपर्छ, बुझ्नु पर्छ भनेर सिकाएन । सिकायो त केबल अरुका बारेमा जान्ने ।
हामीलाई अमेरिकी राष्ट्रपति जो बाइडनको गुण, दुर्गुणबारे राम्रो जानकारी छ । गुण भन्दा दुर्गुणबारे तीन पाना धेरै जानकारी छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, युक्रेनका राष्ट्रपति भेलेदिमिर जेलेन्स्कीका स्वभाव, गुण, दुर्गुण, सम्बन्ध र दुश्मनीका बारेमा पनि दह्रै भाषण दिन सक्छौँ । चिनियाँ राष्ट्रपति सी जिन पिनलाई कसरी प्रसंसा गर्नुपर्छ भन्ने पनि जान्दछौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गर्ने छेउकुना पनि थाहा छ ।
तर हाम्रो बुबा, आमाको खास समस्या के हो ? किन उहाँ पिरोलिरहनु भएको छ ? त्यता चासो छैन । त्यो बारेमा हाम्रो प्रतिस्पर्धीलाई ज्ञान छ । हामीलाई हाम्रै प्रतिस्पर्धीको घरमा कहाँ झार उम्रिएको छ, कुन गारो चिरिएको छ त्यो चाहिँ थाहा छ । बर्षौदेखि बाँझो खेतबारी कसरी आवाद गर्ने बारे अल्लि जानकारी छैन । हाम्रो भान्साको चामल र दाल कुन देशबाट आएको पनि मेसो छैन ।
अहिले केही सरकारी कार्यालयहरु पनि यस्ता भए कि, आफ्नो नाम भएको कार्यालयले के काम गर्ने हो, आफूले गरेको काम कुन कार्यालयले गर्नुपर्ने हो मेसोमेलो भएन । चालु आर्थिक बर्ष घरेलु तथा साना उद्योग विकास कार्यालयले बाटो बनाउँदै छ ।
केही बर्षअघि सिचाइँ कार्यालयले विजुलीको पोल बाँडेको थियो । अहिले घरेलु कार्यालयमा बाटो बनाउने शीर्षकमा करोडौँको कार्यक्रम आएको छ ।
घुम्ने मेचमाथि अन्धो मान्छे भए भने के हुन्छ ? सायद यस्तै हुन्छ, जुन घरेलु कार्यालयमा यसबर्ष भएको छ । अर्थात उद्योग, व्यवसाय, वाणिज्यलाई दर्ता, नवीकरण, प्रवलीकरण, व्यस्थित गर्ने कार्यभार भएको कार्यालयलाई बाटो बनाउने जिम्मा दिइन्छ । घरेलु विकास अधिकृतले आईईई, इआइए, सर्भे, डिजाइन, स्टमेट अनुसार काम भयो वा भएन भनेर प्राविधिक जाँचपास गरी बिल भुक्तानी गर्नुपर्ने छ ।
दोष नीति नियम बनाउनेको हो ।




