
वृक्षारोपणसंगै संरक्षण कार्यक्रम पनि गरौँ
जब असार, साउन लाग्छ, अनि वृक्षारोपण अभियान चल्छ । बर्षौँदेखि हुँदै आएको यो कार्यक्रम नौलो होइन ।
वातावरण विनाश भइरहेको वर्तमान परिप्रेक्ष्यमा वातावरण संरक्षणका लागि वृक्षारोपण कार्यक्रम धेरै प्रसंसनीय कार्यक्रम हो । त्यसैले जतिसक्दो धेरै वृक्षरोपण अभियानलाई अघि बढाउनु पर्छ, निरन्तरता दिनु पर्छ ।
त्यसैले बर्षेनी विभिन्न सरकारी कार्यालय, लायन्स क्लव, रोटरी क्लव, विभिन्न युवा क्लव, आमा समूह, विभिन्न प्रतिष्ठानहरुले वृक्षारोपण कार्यक्रम आयोजना गर्छन् । व्यक्ति स्वयंले पनि फलफूल तथा अन्य प्रजातिका विरुवा रोपेर वातावरण हराभरा पार्ने कामलाई टेवा पु¥याइरहेको हुन्छ ।
व्यक्ति तथा संस्थाले आफ्नो जन्मदिन÷स्थापना दिवस, वैवाहिक वर्षगाँठ, पितृ वा ठूला व्यक्तित्वहरुका स्मृति दिवस, वा यस्तै अन्य उत्सव, दिवस पारेर पनि वृक्षारोपण गर्छन् । यो अत्यन्त सुसंस्कृत कार्य हो ।
यति धेरै सकारात्मक पक्ष हुँदाहुँदै पनि वृक्षारोपण कार्यमा केही आलोचना गर्नैपर्ने पक्ष पनि छ । दशकौँदेखि गरिएका वृक्षारोपण कार्यक्रममा कतिवटा विरुवा रोपिए होलान् ? यसको यकिन तथ्यांक भेट्न गाह्रो छ । तर कति वटा विरुवा हुर्किए होलान् ? त्यो चाहिँ हाम्रा आँखाले सजिलै गन्न सक्छन्, किनभने हुर्किने र अहिलेसम्म टिक्नेको संख्या खास्सै धेरै छैन ।
यस्तो किन भयो ?
हामीले विरुवा रोप्यौँ, तर हुर्काउन मिहिनेत गरेनौँ । यसले हाम्रो कार्यशैलिलाई गिज्याउँछ । किनभने हामी जे पनि सुरु गरेर छाड्छौँ, हामीले सुरु गरेका कामलाई टिकाउन वा दीगो बनाउन वा संस्थागत गर्नेतर्फ ध्यान दिँदैनौँ । वृक्षारोपण मात्र होइन, यो हाम्रो कार्यशैलि अन्य बिषयमा पनि लागु हुन्छ । हामी कुनै पनि कामको सुरुवात गर्छौँ तर त्यसको दीगोपनका लागि योगदान गर्दैनौँ (जथाभावी सडक खनेर छाडेजस्तो) ।
यसले गर्दा हाम्रो काम कहीँ देखाउनका लागि मात्र गरिएको ढोँग पो हो कि भन्नेतर्फ सशंकित पार्छ ।
तसर्थ अबका दिनमा वृक्षारोपणलाई जति जोड दिन्छौँ, यसअघि रोपिएका विरुवालाई जोगाउनका लागि पनि त्यत्तिकै महत्वका साथ काम गरौँ । गरेका कामको औचित्यता प्रदर्शन गरौँ ।




