
भदौ २ देखि दोस्रो आँबुखैरेनी सांस्कृतिक महोत्सव हुने
तनहुँको आँबुखैरेनीमा भदौ २ गतेदेखि १५ गतेसम्म दोस्रो आँबुखैरेनी सांस्कृतिक महोत्सव–२०७९ हुने भएको छ ।
‘विभिन्न जातजातिको कला, संस्कृति, परम्परा, भेषभूषा, संस्कारको पहिचान युवा जगतको अभियान’, भन्ने मूल नाराका साथ मिलन युवा समाज क्लब र आँबुखैरेनी कलाकेन्द्रको आयोजना, आँबुखैरेनी भलिबल संघको सह–आयोजना तथा आँबुखैरेनी गाउँपालिकाको संरक्षकमा सांस्कृतिक महोत्सव हुन लागेको हो ।
आँबुखैरेनी गाउँपालिका–३, थुम्कीचौतारा(पाउरोटी भण्डार) नजिकै संचालन गरिने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा विशेष प्रस्तुति, मिसक्वीन तिज प्रतियोगिता, हाँस्यव्यङ्ग्य स्थानीय कलाकारद्वारा लाईभ कन्सर्ट, रमाइलो मेला, सस्तो बजार, बालउद्यान, विभिन्न जातजातिका खानाका परिकार, भलिबल प्रतियोगिता, कृषि प्रदर्शनी लगायत मुख्य आकर्षण रहेको महोत्सव मूल समारोह समितिका संयोजक अभियान श्रेष्ठले बताए ।
म
होत्सवबाट उठेको रकमले एम्बुलेन्स खरिद गरी बिरामीको अवस्था हेरेर निःशुल्क सेवा प्रदान गरिने र असहाय, दिनदुःखी, विपन्न वर्गलाई आर्थिक सहयोग गरिने महोत्सवका संयोजक एवम् मिलन युवा समाज क्लबका अध्यक्ष श्रेष्ठले बताए । महोत्सव भव्य रुपले सफल पार्नका लागि सचिवालयको स्थापना गरेर अगाडि बढिरहेको उनले बताए ।
यसअघि कोभिड १९ को प्रभावका कारण लामो समययता हुन नसकेको महोत्सवले ब्यापारी ब्यवशायीसँगै सर्वसाधारणलाई किनमेलमा सजिलो र मनोरञ्जन समेत प्रदान गर्ने आयोजकले जनाएको छ । महोत्सवमा बाल उद्यान, खानका स्टलहरु, चर्चित कालाकारका प्रस्तुति मूख्य आकर्षणको रुपमा रहेको छ ।




