| सोमवार, कार्तिक २३, २०८३

खानेपानी कोलिफर्ममुक्त बनाऔँ

‘हामी स्वस्थ रहने कि अस्वस्थ रहने हाम्रै हातमा निर्भर छ । हाम्रो शरीरमा ७२ प्रतिशत पानी छ । त्यसैले हाम्रो शरीरलाई कति स्वस्थ राख्ने भन्ने हामी कति शुद्ध, स्वच्छ पानी पिउँछौँ भन्नेमा निर्भर रहन्छ’– सद्गुरु ।

चाहे जुनसुकै स्वास्थ्य समस्या भएर अस्पताल जाऔँ, चिकित्सकले धेरै सुझावहरु दिन्छन्, जसमध्य पहिलो नंबरको सुझाव हुन्छ, पर्याप्त पानी पिउनुस् । यो संगसंगै जान्नैपर्ने अर्को कुरा पनि छ, स्वच्छ, सफा, शुद्ध पानी पिएर मात्र हामी स्वस्थ हुन्छौँ । जब कि शरीरमा हुने तीन चौथाइ भाग पानी नै स्वच्छ छैन भने हामी स्वस्थ छौँ भनेर कसरी विश्वास गर्न सक्छौँ ? पानीले हाम्रो शरीरमा प्रतिरक्षा प्रणाली सुदृढ गर्छ तर पानी नै स्वस्थ छैन भने प्रतिरक्षा प्रणाली कमजोर हुन्छ अनि जोकोही बिरामी पर्छन् ।

जो कोही पनि आफ्नो सवारी साधनमा शुद्ध इन्धन प्रयोग गर्न चाहन्छन् । मिसावटयुक्त इन्धन प्रयोग भयो भने इञ्जिन बिग्रन्छ भन्ने जो कोहीलाई ज्ञान छ । तर पानी शुद्ध भएन भने हामी बिरामी पर्छौँ भन्नेतर्फचाहिँ लापार्बाही गरिरहेको पाइएको छ ।
हाम्रा शरीरका प्रत्येक कोषिका हामीलाई स्वस्थ राख्न उद्धत हुन्छन् । तर कोशिकामा पुग्ने पानी नै स्वस्थ छैन भने हामी स्वस्थ हुन्छौँ भनेर कसरी कल्पना गर्ने ? प्रदुषित पानी खाने, अनि बिरामी भयौँ भनेर डाक्टर सामु गएर भन्छौँ, मलाई ठिक गर्नुहोस् । हामी आफैले आफैलाई ठिक गर्दैनौँ भने डाक्टर मात्र ठिक गरेर हुन्छ ?

अहिले स्वास्थ्य कार्यालय गोरखाले सार्वजनिक गरेको खानेपानीको स्रोत परीक्षणको प्रतिवेदनमा अधिकांश पानीका मुहानमा कोलिफर्म व्यप्त रहेको पाइएको छ । कोलिफर्म अर्थात दिशा, झाडापखालामा हुने जीवाणुले हाम्रा पिउने पानीलाई प्रदुषित पारेको छ ।
खानेपानीका लागि प्रदेश सरकारले अर्बौँ खर्च गरेको छ तर पानीको गुणस्तर यस्तो छ भने स्वस्थ नागरिकको कसरी कल्पना गर्न सक्छौँ ? खानेपानीको धाराको संख्या बढाएर वा भौतिक पक्ष सुधार गरेर मात्र हुदैन, पानीको स्रोत स्वच्छ राख्ने बारे पनि कार्यक्रम बनाउनु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्